सरकार परिवर्तन हुने गरी भदौ २३ र २४ गते भएको आन्दोलनको एक महिना पुग्दा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले “भविष्यको नेपाल निर्माणमा” जेन जीलाई “अर्थपूर्ण” रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने बताएकी छन्।
यसबाहेक छुट्टै संयन्त्र बनाएर भन्दा पनि राज्यका विद्यमान संयन्त्रहरूमा जेन जीको अर्थपूर्ण सहभागिता गराउने प्रयास पनि सरकारले गर्ने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन्।
बिहीवार साँझ प्रधानमन्त्रीले एउटा भिडिओ सन्देशमा बोल्दै भनेकी थिइन्, “भविष्यको नेपाल निर्माणमा जेन जीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने छौँ। यो दु:खद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ।”प्रधानमन्त्रीको उक्त सम्बोधन सकारात्मक रहेको र सरकार बनेयता आफूहरू प्रधानमन्त्रीलगायत सरकारका प्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा रहेको जेन जी आन्दोलनका अभियानकर्मीहरूले बताएका छन्।





