नेपालको अनलाइन भुक्तानी गर्ने एउटा गेटवे ‘ईसेवा’को एपलाई यसै साता दुई दिनसम्म गुगल प्लेस्टोरबाट हटाइएपछि नेपालमा सञ्चालित यस्ता विद्युतीय भुक्तानी माध्यमको सुरक्षाबारे कैयौँ प्रयोगकर्ताले प्रश्न उठाएका छन्।

ईसेवाले भने व्यावसायिक एपबारे गुगलको नयाँ निर्देशिकानुसार आफ्नो कम्पनीले गुगललाई बुझाएका कागजपत्र र तेस्रो पक्षले गुगललाई उपलब्ध गराएका दस्तावेजमा कम्पनीको नाम फरक देखिएका आधारमा प्लेस्टोरले ईसेवाको एपलाई हटाइदिएको बताएको छ।सुरक्षा वा गोपनीयतासम्बन्धी कुनै पनि कारणले नभई कागपत्र प्रमाणीकरणका क्रममा फरक पर्न जाँदा त्यस्तो भएको उसको दाबी छ।

यद्यपि सामाजिक सञ्जालमा कैयौँ प्रयोगकर्ताहरूले “सुरक्षाका कारण एप हटाइएको हुन सक्ने” आशङ्का व्यक्त गरेका थिए। कतिपयले ईसेवा प्रयोग नगर्न तथा त्यसमा रहेको नगदलाई अन्यत्र सार्ने सुझाव पनि दिएका थिए।अहिले ईसेवाको एप प्लेस्टोरमा उपलब्ध भइसकेको छ।

नेपाल राष्ट्र ब्याङ्कले उक्त घटनालाई गम्भीरतापूर्वक लिएको र त्यसबारे थप बुझेर आवश्यक काम गर्ने जनाएको छ।बीबीसीले नेपालमा ८० लाखभन्दा बढी प्रयोगकर्ता भएको भनिएको उक्त एपलाई प्लेस्टोरबाट हटाइनुको कारणसँग सम्बन्धित प्रश्नहरू सोधेर गुगललाई पठाएको इमेलको उत्तर भने हालसम्म प्राप्त गरेको छैन।

साइबर सुरक्षाविज्ञहरू ईसेवाले भने जस्तै कागजपत्र प्रमाणीकरणका कारण यस्तो समस्या देखिएको हो भने पनि त्यस्तो अवस्था आउन नदिन भुक्तानी सेवा दिने कम्पनीहरू चनाखो हुनुपर्ने सुझाव दिन्छन्।
@bbcNepali

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय