फुरल्हाक्पा शेर्पा
हाम्रो देश नेपाल बहुभाषिक ,बहुधार्मिक ,बहुसांस्कृतिक मुलुक हो । जहा मिश्रित समाज र समुदायहरु लामो समयदेखि बसोबास गर्दै आएका छन् । फरक भूगोल र फरक हावापानीको कारण नेपालका सबै समुदायहरुको मौलिक संस्कृति र रहनसहन भिन्न भिन्नै रहेको छ ।
भिन्न भिन्नै समुदायको भाषा र संस्कृतिको कारण नेपालमा अनेकतामा एकता छ । सबैको फरक भाषा र संस्कृतिले नेपाल रंगीचंगी फुलबारी जस्तो सुन्दर देशको रुपमा चिनिएको छ । समय परिस्थितिसँगै नेपालमा अहिलेसम्म विभिन्न कालखण्डहरुमा धेरै परिवर्तनहरु भइसकेका छन् । जनताको संघर्षले भएका ती परिवर्तनहरुमा सबै जातजातिहरुको महत्वपूर्ण योगदान रहेको छ । तर विडम्बना नै भन्नुपर्छ त्यतिका परिवर्तनहरु भएपनि अझै पनि देश एक जात, एकै भाषा, एकै संस्कृति मान्ने समुदायले नै हालीमुहाली गर्दै आएको देख्दा दुख लाग्छ ।
सीमित जातले लामो समयदेखि राज्य सत्ता चलाउदै आउनुको साथै उनीहरुले गर्दै आएको एकात्मक शैलीका कारण देशले सोचेजस्तो मुहार फेर्न सकेको छैन ।
विश्व समुदायमाझ नेपाल प्राकृतिक सुन्दरता र विविध जातजातिको संस्कृतिको कारण परिचित भए पनि सीमित शासक वर्गको साँघुरो सोचको कारण देश अघि बढ्न सकेको छैन । बास्तबमा देशमा अहिलेसम्म सबै भाषा बोल्ने, भिन्न संस्कृति मान्ने सबै समुदायका जनतालाई समान अवसर प्रदान गरी अगाडी बढाउनु पर्नेमा अहिलेसम्म जातमा खस र आर्य, धर्ममा हिन्दु धर्म मान्ने समुदायको जीवनस्तर उकास्ने सोच मात्र बढेको पाइयो ।
मुलुक धर्मनिरपेक्ष राष्ट्रको रुपमा घोषणा भइसके पनि अझै पनि षड्यन्त्रपूर्ण ढंगबाट नेपाल हिन्दु राज्य हुनुपर्छ भन्नेहरु छन् । नेपालका सरकारी कार्यालय, सुरुक्षा निकाय, प्रहरी, सेना र राजनीतिक दलका कार्यलयहरुमा झुण्डाइरहेको हिन्दु भगवानका तस्बीरहरु, जागिर खादा अनिवार्य रुपमा धर्ममा हिन्दु धर्म लेखिनुपर्ने, सपथ खादा गीतालाई छुनु पर्ने, नागरिकता लिदा ढाका टोपी लगाउनुपर्ने र अनिवार्य खस भाषा बोलिनुपर्ने जस्ता बाध्यात्मक ब्यवस्था अझैपनि लागु गरिनु अन्याय कार्य हो । यि बाध्यात्मक सोचहरु नहटेसम्म मुलुकका सवै जातजाति र सबै धर्म सम्प्रदायको भावनामाथि खेलवाड गरेको देखिन्छ । मुलुकमा हिन्दु धर्मलाई महत्व दिनु, संस्कृति शिक्षा र खस आर्य भाषालाई प्रथामिकता दिनले पनि एकात्माक बाध्यकारी ब्यवस्था सिर्जना भएको छ । राज्यसत्तामा बस्नेहरुको संकुचित सोचकै कारण हिन्दु र खस आर्य भाषा बोल्नेबाहेक अरु भाषाभाषी समूदाय र धार्मिक समुदाय राजनैतिक, सरकारी सेवा र सञ्चार जगतमा आउन नसकेको देखिन्छ ।
यस किसिमको सोचबाट अझै पनि बाहिर निस्कन सकेन भने अबका दिनमा अन्य समुदायले आफनो भाषा, धर्म र संस्कृति बाध्यताले बिर्सनु पर्ने देखिन्छ । यदि नेपालमा रहेका विभिन्न समुदायले बोल्दै आएका भाषाहरु र धर्म संस्कृतिहरु हराउँदै गए नेपालको परिचयमाथि संकट आउने देखिन्छ ।
लामो समयदेखि राज्यसत्ताको एकल जातीय सोचकै कारण नेपालमा हिन्दुहरुको लागि संस्कृति संरक्षणका लागि निर्माण गरिएका संस्कृत अध्ययन केन्द्र, विश्वविद्यालय, मठ मन्दिर र पण्डितहरुको नाममा राज्यकोषबाट करोडौ बजेट निकासा हुदै आएको छ । तर त्यही अनुसार अन्य भाषाका समुदायहरुको धर्म संरक्षणका लागि अध्ययन केन्द्र त के अन्य भाषाभाषी र धर्मको नामसमेत लिन नचाहनु दुर्भाग्य हो । नेपालमा हिन्दु धर्म र खास आर्यन भाषासँगै बौद्ध, ईसाई, मुस्लिम, किरात धर्मलम्बीहरुको साथै कैयो मौलिक भाषा बोल्ने जातजातिहरु सदियौदेखि बस्दै आएका छन् ।
उनीहरुको धर्मको आस्थाको केन्द्र स्तुपा, गुम्बा, चर्च, मस्जीद जस्ता धर्मिक स्थलहरुमा राज्यले सहयोग गर्न नसक्नु एकात्मक सोचकै रुपमा लिनुपर्छ । राज्यले यी धार्मिक आस्थाका केन्द्रहरुमा सहयोग गर्नु त परै जाओस बेलाबेला विभिन्न बाहनामा दुःख दिनु अत्यन्तै गलत कार्य हो । यस्तै साँघुरो सोच र गतिविधिको कारण हाम्रो भाषा र धर्म संस्कृतिलाई एकात्मकबादी राज्य सत्ताले हत्या गर्न खोजिएको देखिन्छ ।
यसरी नै हाम्रो पहिचानलाई क्षति गर्दै गए राज्यपक्षले यसको सवै क्षती बेहोर्नुपर्दछ । राज्यको यी गैरन्यायीक विभेदपुर्ण सोच र व्यवहारको कारण विभिन्न जनजातिहरुले नेपालमा र विदेशमा समेत आप्mनो भाषा बोल्न र प्रयोगमा ल्याउन समेत कठिन भइरहेको छ । जुन अन्यतै दुखद पक्ष हो । अबको नयाँ नेपालमा देशवासी सबै नेपाली जनताले मान्ने सबै धर्म र बोलिने सबै भाषालाई समान अधिकार दिदै राष्ट्रको विकास निर्माणमा सबै नेताहरु र पार्टी अघि बढ्नुपर्छ । सबै जाति जनजाति र समुदायको सम्मानजनक सहभागिता र साझा भावनाले मात्र देशको विकास गर्न सकिन्छ भन्ने सोच र चिन्तन अबको जन प्रतिनिधिहरुमा हुनुपर्छ । लामो समय एकात्मक सोचबाट गुज्रेको मुलुकमा अब नयाँ सोचका साथ परिवर्तन आउनु जरुर देखिएको छ ।
एवरेस्ट टाइम न्यूज़ बाट साभार