सन् १८०० देखि सन् १९०० सम्म अमेरिकामा महिला पत्रकारलाई फेसन र नयाँ खाद्यान्नका परिकारका विषयमा बाहेक अन्य सामाजिक विषयवस्तुमा लेख्न वा समाचार संकलनका लागि वर्जित थियो । तर दोस्रो विश्व युद्धसम्म आइपुग्दा म्यारी मार्बिन ब्रेकिन रिज तथा मार्गरेट बुर्के ह्वाइटजस्ता साहसी महिला पत्रकारहरूको पदार्पण भयो, जसले दोस्रो विश्वयुद्धको समयमा युद्ध क्षेत्रमा गई फोटो पत्रकारितामार्फत संसारलाई सूचना पस्किन् । भारतका विद्या मुन्सी प्रथम महिला पत्रकार थिइन्, जसले ब्लिज साप्ताहिकमार्फत बहुचर्चित क्यानेडाली पाइलटहरूद्वारा कोलकातामा गरिएको सुन तस्करी तथा चिनाखुरीस्थित कोइलाखानीमा भएको प्राकृतिक प्रकोपका कारण मारिएका कामदारहरूको खोजमूलक रिपोर्टहरूको स्कोप पस्केर खोज पत्रकारितामा समेत महिला पत्रकारको सक्षमता र साहसलाई विश्वसामु उजागर गरिन् ।
नेपालमा पत्रकारिताको इतिहासको आरम्भ विसं १९५५ मा भयो । ‘सुधासागर’ म्यागजिनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक र दैनिक हुँदै निरन्तरता दियो । प्रजातन्त्रको पुनर्वहालीसम्म । यस बीचमा ‘शारदा’ दैनिकलगायत थुप्रै पत्रिकाहरू निकाले पनि पत्रकारितामा महिलाको खासै भूमिका रहेन । तर २००७ को क्रान्तिमा महिला नेतृत्वको समेत निर्णायक भूमिका रहेपश्चात् महिला नेतृहरूकै पहलमा उत्साह र रहरको उपजका रूपमा विसं २००८ मा मुलुकको पहिलो महिला पत्रिका ‘महिला’ मासिक प्रकाशित भयो । साधना प्रधानको सम्पादकत्वमा प्रकाशित सो पत्रिका नेपालमा महिलाहरूले पहिलोपटक भोट हाल्न पाउने अधिकार प्राप्त भएको खुसियालीमा प्रकाशित भएको थियो तर सो एक मात्र महिला पत्रिका पनि कालान्तरमा बन्द भयो । जे होस्, नेपाली पत्रकारिताको इतिहासमा महिला पत्रकारको जन्म ‘महिला’ मासिकबाट सुरु भयो । जसले कालान्तरमा महिलालाई यस क्षेत्रलाई पेसा बनाउन एउटा ऐतिहासिक प्रेरणा दियो ।
परिवार, समाज तथा राष्ट्र विकासका लागि महिला विकास अनिवार्य छ । वैदिककालमा समेत महिला विकासका लागि नीति तथा व्यवहार निर्माण भएका थिए । वर्तमान विश्वमा शान्ति तथा विकासका लागि संयुक्त राष्ट्र संघले महिला विकासलाई आधार स्तम्भ मानेको छ । मानव विकासका लागि महिला विकास अपरिहार्य पक्ष हो भने महिला विकासका लागि एउटा पक्षधरको रूपमा महिला पत्रकारको अस्तित्वलाई स्वीकार्नु आवश्यक छ । कारण विकासका आधारभूत पक्षका रूपमा शिक्षालाई मानेको अर्थमा महिला विकासका लागि आवश्यक शिक्षा तथा सूचनालाई प्रत्याभूति दिलाउन महिला पत्रकारको भूमिका सहजकर्ताका रूपमा रहन्छ । तर जनसंख्याको हिसाबले ५१ प्रतिशत ओगटेको महिला वर्गको उपस्थिति राज्यका अन्य निकायमा न्यून रहेझैं यो वर्गको उपस्थिति पत्रकारितामा पनि समेत अत्यन्त न्यून छ । यसमा तुलनात्मक रूपमा आदिवासी जनजाति महिला पत्रकारको संख्या त अझै न्यून रहेको अवस्था छ ।
दिगो शान्तिबिना लोकतन्त्र संस्थागत नहुने हु“दा सूचनाका संवाहक पत्रकारिताको भूमिका दिगो शान्तिलगायतका मानवअधिकारका अवयवहरू तथा आदिवासी जनजातिका हकअधिकार प्रत्याभूतिका लागि महिला पत्रकारको भूमिका अर्थपूर्ण रहन्छ। कारण आदिवासी जनजाति महिला तथा बालबालिका समाजका सबैभन्दा पीडित वर्गमा पर्छन्
आदिवासी जनजाति महिला पत्रकार
विश्वमा आदिवासी जनजाति समुदायको संख्या ३७ करोड रहेको छ । यो जनसंख्या विश्वको कुल जनसंख्याको ४ दशमलव ४ प्रतिशत हो । नेपालमा कुल जनसंख्याको ३७ दशमलव २ प्रतिशत रहेको आदिवासी जनजातिमा पुरुषको जनसंख्या ५२ दशमलव २ प्रतिशत र महिलाको संख्या ३६ दशमलव २६ प्रतिशत छ । जसमा ५९ समुदाय रहेका आदिवासी जनजातिमा पछिल्ला दिनमा १६ अन्य समुदायलाई पनि समावेश गर्ने पहल भइरहेको छ । तर आर्थिक सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा पिछडिएको कारण यो समुदायको उपस्थिति राज्य संयन्त्रको नीति निणर्य तहमा अत्यन्त न्यून रहेको छ ।
त्यस्तै, राज्यको चौथो अंग पत्रकारितामा समेत यस समुदायको उपस्थिति अत्यन्त न्यून छ । नेपाल पत्रकार महासंघको स्रोतअनुसार नेपालमा ९ हजार ८ सय ५५ पत्रकारमा जम्मा १ हजार ५ सय आदिवासी जनजाति पत्रकार रहेका छन् । यसमा पनि आदिवासी जनजाति महिला पत्रकारको संख्या अत्यन्त न्यून २ सय ७७ मात्र छ । त्यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्रोतअनुसार आदिवासी जनजाति पुरुष पत्रकारको संख्या १ हजार ७ र आदिवासी जनजाति महिला पत्रकारको संख्या ४ सय ८३ रहेको छ । आदिवासी जनजाति पत्रकार महासंघको यो संख्यामा प्रतिशतका हिसाबले ३२ प्रतिशत ओगटेको आदिवासी जनजाति महिला पत्रकारको संख्यालाई सरहाना गर्न सकिन्छ । तर नेपालमा पत्रकारको राष्ट्रिय छाता संगठनका रूपमा रहेको नेपाल पत्रकार महासंघको वर्तमान कार्य समितिमा आदिवासी जनजाति महिला पत्रकारकोे उपस्थिति छैन । अर्कोतर्फ कल आदिवासी जनजाति महिला पत्रकारको न्यून उपस्थिति रहनाले भविष्यमा समेत यसको कार्यसमितिलगायतका सञ्चार सम्बद्ध राज्य संयन्त्रका निर्णायक तहमा आदिवासी जनजाति महिला पत्रकारकोे उपस्थितिलाई तगारो बनाउने सम्भावना प्रचुर छ ।
दिगो शान्ति तथा आदिवासी जनजाति महिला पत्रकारको भूमिका
सूचना त्यस्तो शक्ति हो, जसले मानिसका अन्तर्मन र भावनासमेतलाई सचेत र परिवर्तन गराउँछ । मानवअधिकारको आधारभूत मान्यता लोकतान्त्रिक अभ्यासलाई कार्यान्वयन गराउन सूचनाको भूमिकाको खास पहल हुने गर्छ । दिगो शान्तिबिना लोकतन्त्र स्थागत नहुने हुँदा सूचनाका संवाहक पत्रकारिताको भूमिका दिगो शान्तिलगायतका मानवअधिकारका अवयवहरू तथा आदिवासी जनजातिका हकअधिकार प्रत्याभूतिका लागि महिला पत्रकारको भूमिका अर्थपूर्ण रहन्छ । कारण आदिवासी जनजाति महिला तथा बालबालिका समाजका सबैभन्दा पीडित वर्गमा पर्छन् । तसर्थ उनीहरूको विशेष संरक्षण गर्न तथा भेद्भाव, हिंसा एवं बहिस्करणबाट उन्मुक्ति दिलाउन आदिवासी जनजाति महिला पत्रकारले आवाजविहीन बनेर समाज र राष्ट्रलाई सही दिशा निर्देशित गर्न सक्छन् ।
यस अर्थमा आदिवासी जनजाति महिला पत्रकारको प्रस्तुति र उपस्थितिको अपरिहार्य आवश्यकता रहन्छ । कारण मानवीय संवेग र मानव मनोविज्ञानअनुरूप एउटा महिलाले आफूमाथि भएको अन्याय, विभेद र हिंसाबारे जानकारी दिन महिलाकै उपस्थितिमा सहजता अनुभव गर्न सक्छन् । त्यसमा पनि अधिकांश आदिवासी जनजाति महिला शिक्षा, चेतना, पहुँच तथा आत्मविश्वासको कमीका कारण आफ्ना अधिकारका लागि आवाज उठाउन वञ्चित रहने गरेको सन्दर्भमा आदिवासी जनजाति महिला पत्रकारको वकालती पहलले ती आवाजविहीन वर्गलाई आफ्ना हकअधिकार प्राप्त गर्न राज्य सरकार र सरोकारवालासम्म पुलको काम गर्न सक्छन् । अर्कोतर्फ विकासकै पूर्वाधारको रूपमा रहेको दिगो शान्तिका लागि समेत आदिवासी जनजाति महिला पत्रकारको भूमिका अग्रगामी रहन्छ ।
वास्तवमा परम्परागत रूपमै महिलाको सामाजिक एवं पारिवारिक शान्तिमा विशेष भूमिका रहने गरेको छ । यही तथ्यका आधारमा संयुक्त राष्ट्र संघले समेत दिगो शान्तिका लागि महिलाको आवश्यकतालाई सम्बोधन र कार्यान्वयन गरेको छ । विशेष गरी शान्ति निर्माणका क्षेत्रमा गरिएका अध्ययनको निष्कर्ष तथा संयुक्त राष्ट्र संघले दिगो शान्तिका लागि आवश्यक तीन मुख्य आधारस्तम्भ आर्थिक पुनरुत्थान तथा सामञ्जस्यता, सामाजिक मेलमिलाप, विकास एवं राजनीतिक वैधता तथा सुरक्षा र सुशासनमा महिलाको अग्रगामी भूमिकालाई उजागर गरेको छ । यस अर्थमा राज्य व्यवस्था तथा अन्तर्राष्ट्रियस्तरमै दिगो शान्ति स्थापनाका लागि महिलाको अग्रगामी अस्तित्वलाई स्वीकारेको छ । जसको प्रारम्भ बिन्दुका रूपमा आदिवासी जनजाति महिलामाथि हुने हिंसा, उनीहरूका अधिकारका सवाल तथा आदिवासी जनजाति महिला विकासका अवयवका विषयमा ओझेलमा परेका मुद्दा तथा आदिवासी जनजाति महिला हितका सवालमा उठेका आवाजलाई राज्य संयन्त्र तथा सरोकारवाला समक्ष पु¥याउन आदिवासी जनजाति महिला पत्रकारको भूमिका अपरिहार्र्य रहन्छ । अर्कोतर्फ नेपालमा रहेका विविध भाषिक समुदायसँग सम्बद्ध नेपाली भाषा राम्ररी बोल्न र बुझ्न असमर्थ आदिवासी जनजाति महिलाका भावना र आवाजलाई बुलन्द गर्न पनि आदिवासी जनजाति महिला पत्रकारले एक सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छन् ।
निष्कर्ष
पत्रकारितामा आविासी जनजाति महिलाको उपस्थितिले आदिवासी जनजाति महिलाका आदिवासी जनजातिका अधिकार एवं आदिवासी जनजाति महिलाका मानव अधिकारलाई प्रत्याभूति दिलाउन विशेष योगदान रहे तापनि आदिवासी जनजाति महिला पत्रकारको न्यून उपस्थितिले आदिवासी जनजाति महिलाका अधिकार तथा आदिवासी जनजातिका अधिकारप्रति सचेतना दिलाउन समस्या रहेको छ । विशेष गरी आदिवासी जनजाति महिलाको सहभागिता कृषिजन्य उत्पादनमा, जीविकोपार्जन तथा घरायसी काममै व्यस्त रहनुपर्ने बाध्यता, भाषिक समस्या तथा शिक्षाबाट वञ्चितीकरणका कारण पत्रकारितालाई व्यावसायिक पेसाका रूपमा अपनाउनेको संख्या अत्यन्त न्यून छ । अर्कोतर्फ चेतना र आर्थिक अभावका कारण यो पेसामा आकर्षित हुन नसक्नु पनि कारक बनेको छ ।
यस अर्थमा आदिवासी जनजाति महिला पत्रकारको उपस्थितिलाई बढाउन राज्य सरकार तथा सरोकारवालाको विशेष पहलकदमीको आवश्यकता पर्छ । यसका लागि आदिवासी जनजाति महिला पत्रकारलाई यस क्षेत्रमा आकर्षित गर्न आवश्यक, सचेतनामूलक कार्यक्रम, तालिमको व्यवस्था तथा आर्थिक अनुदानजस्ता विकासमूलक कार्यक्रमको अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन तथा त्यसको कार्यान्वयन गर्नु अपरिहार्य छ । जसको प्रभावले आदिवासी जनजाति महिलाहरू यस क्षेत्रलाई व्यावसायिक पेसा बनाउन प्रेरित हुनेछन् भने आदिवासी जनजाति महिला पत्रकारको उपस्थितिले कम पढे लेखेका र ग्रामीण भेगका आदिवासी जनजाति महिलामा आफ्ना हकअधिकारप्रति सचेत हुन पत्रकारितामार्फतका प्रस्तुति तथा वकालती पहलले बल दिने छ । यसले एउटा हिंसारहित समाजको परिकल्पनालाई साकार पार्र्न सक्षम त हुनेछ नै, सुशासनअन्तर्गत विधिको शासनको प्रत्याभूतिसमेत हुनेछ । जसले समाज एवं राष्ट्र विकासमा समेत थप योगदान दिँदै विश्वमा दिगो शान्तिका लागि पहिचान गरिएका आधारस्तम्भहरू आर्थिक पुनरुत्थान तथा सामञ्जस्यतालगायतका अवयवहरूलाई कार्यान्वयन गराउन आदिवासी जनजाति महिला पत्रकारको भूमिकाले सकारात्मक परिणाम दिनेछ ।