एक
बाल्यकालको कुरो। जाडोको यामको एक दिन। घरदेखि १२-१५ मिनटको दूरिमा एउटा बुढो पिपलको रुख थियो। त्यहाँ ‘माम थान’ थियो र एका विहानै ‘माम’ (बज्यै, पूर्खा देवी)को पूजा हुन्थ्यो। एउटा ठुलो थालमा विभिन्न जीवजन्तुको सासाना आकार सजाइएको हुन्थ्यो। ठुलो आकारको एउटा जीव बिचमा हुन्थ्यो। गाउँका विभिन्न उमेर समुहमा तामाङहरु (तिल्पुङका योन्जनहरु) को उपस्थित रहन्थ्यो। सो दिनको पुरेत हुन्थे- मेरा बाजे। पूजा पछि उनको अभिव्यक्ति हुन्थ्यो- “आजदेखि लामो दिन सुरु हुन्छ । जाडो घटन थाल्छ । हामी सबैको एक वर्ष उमेर बढ्यो।”
सो दिन सर्वप्रथम काँचो वन तरुल खाइन्थ्यो । यसपछि उसिनेका घर तरुल र फर्सी आदि फलाहारहरु । अनि आलुम र भोल्टु (विशेष प्रकारको पानी रोटी) ।
केही वर्ष पछि थाहा भयो- त्यो दिन माघे संक्रान्ति रहेछ । सूर्य मकर रेखामा पर्दो रहेछ अर्थात् घाम उत्तरतिर सर्दो रहेछ र गर्मी याम सुरु हुँदो रहेछ । त्यसै दिन ‘ल्हो’ फेरिएको मानिदो रहेछ र हरेकको उमेर पनि एक वर्ष थपिदै जाँदो रहेछ ।
“जिवा (मुसा)बाट ल्हो गणना सुरु गर्नु पर्छ र माघबाट नयाँ बर्षको महिना सुरु हुन्छ” भनेर मेरा बाजेले मलाई ल्हो गणना सिकाएका हुन् । म यसरी नै गणना गर्ने गर्छु ।
सम्झना रहोस्- म बाह्र साले हुँ ।
दुइ
वि.सं. २०३९ सालको असोजतिर म नुवाकोट जिल्लाको साल्मे गाउँमा पुगेको थिएँ । एउटा विदेसी अनुसन्धान टोलीको लागि अनुवादक भएर । यो गाउँ त्रिशुली नदीको पश्चिम क्षेत्रको उच्च पहाडी भागमा अवस्थित रहेछ । स्थानीय समुदायसँग संस्कार-संस्कृतिको कुरा चल्दा ल्होसारको कुरा पनि निस्कियो । एक जना युवतीबाट मैले निम्तो पाएँ- “माघे संक्रान्तिमा ल्होसार हेर्न आउनोस् ।” अर्कीले कुरा थपे- “पाँच दिनसम्म जात्रा लाग्छ । परदेश गएकाहरू पनि घर आइपुग्छन् । विवाहित छोरीचेलीहरू पनि माइत आउँछन् । ल्होछार जात्रा हेर्न नुवाकोटका विभिन्न भेगका तामाङहरू पनि साल्मे आउँछन् ।”
यो कुरा मैले “नुवाकोट जिल्लाका तामाङहरु- एक अवलोकन” (कोङपी मासिक २०३९) शीर्षक लेखमा सविस्तार लेखेको छु ।
तिन
२०४५ को जेठदेखि तामाङ पत्रिका ‘स्योम्हेन्दो’को सम्पादन तथा प्रकाशन सुरु गरेँ। सो सालको पुसमा उक्त पत्रिकामा लामा टि. ग्यालछानको ‘ल्होछार’ शीर्षक लेख छापियो । सम्पादनको क्रममा निकै छलफल गरेर ‘ल्होछार’ शब्दको प्रयोग गरेँ । यो स्थानीयकरण (Localization) को प्रयास थियो । तामाङ भाषामा ‘छार’ शब्दले ‘नयाँ’ को अर्थ बोध गराउँछ । त्यस पछिका वर्षहरुमा ल्होछार विशेषाङ्क पनि प्रकाशित गरेँ । बौद्धिक तथा प्राज्ञिक जगतमा पनि ‘ल्होछार’ छलफलको विषय बन्न थाल्यो । यसले निरन्तर उचाइँ लिइरह्यो ।
यसभन्दा अगाडि २०४२ मा “रिमठिम-२” पत्रिकामा परशुराम तामाङको “ल्होसारः वर्षा आरम्भको चहाड” शीर्षक लेख छापिएको पाइन्छ । यसबाहेक अरु कुनै लेख, समाचार वा विचार कतै छापिएको पाइँदैन । त्यसतामा आमसञ्चार जगतमा यो शब्द प्रायः सुनिदैन थियो ।
चार
नेपाल तामाङ घेदुङको स्थापना विधिवत् रुपमा २०४७ को जेठमा भएपछि ल्होछारबारे थप चर्चा चल्न थाल्यो । घेदुङले तामाङ जातिमा राष्ट्रिय चाड खडकेकोले ल्होछार छान्ने प्रयास गर्यो । य्होल्मो लगायतका समुदायसँग छलफल गरेपछि माघे औंसीको भोलिपल्ट (माघ शुक्ल प्रतिपदाको दिन) ल्होछारको तिथि तय गर्यो । उक्त दिन सरकारी विदा गराउन प्रयास जारी राख्यो । २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ‘सोनाम’ ल्होछारको दिन सरकारी कर्मचारीहरुको लागि विदा दिने घोषणा गर्यो ।
यस घोषणाले एकातिर परम्परागत रुपमा चलिआएको ल्होछारलाई गाउँघर र परिवारमै सिमित गरायो भने अर्कोतिर काठमाडौंमा ‘तामाङ राष्ट्रिय चाड’को पनि विधिवत् रुपमा सुरुवात् गरायो । यसका साथै थप चर्चा परिचर्चा पनि हुन थाल्यो अनि ल्होछार मनाउने अन्य समुदाय र तामाङहरुबिच पनि पर्याप्त छलफल नगराएको भन्दै पक्ष-विपक्ष र सहमत-असहमतको बिउ पनि उमार्यो ।
पाँच
ल्होछारका दिन विदाको घोषणा गरिए पछि नेपाल बौद्ध मैत्री महासङ्घले “तापा ङ्ह्या”[1] (पुसको पूर्णिमा)को दिन ‘ल्होछार’ मान्नु पर्ने प्रस्ताव अगाडि सार्यो[2] र “मुदिङ (आकास वर्ष) क्यालेण्डर” पनि प्रचारमा ल्यायो । केही वर्ष यो ल्होछारको जोडतोडका साथ प्रचार-प्रसार पनि भइरह्यो ।
शेर्पाहरु पनि फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्पो ल्होसारमा विदा घोषणा गराउन जुर्मुराउन थाले । यसपछि ‘ग्याल्पो ल्होसार’ पनि सतहमा आउन थाल्यो । केही वर्षको प्रयास पछि उनीहरु पनि सरकारी विदा घोषणा गराउन सफल भए ।
यसपछि तामाङहरुको एउटा धार्मिक समुह पनि ग्याल्पो ल्होसारको पक्षका खुलेर आउन थाल्यो । चर्का चर्की वहस शुरु हुन थाल्यो ।
अहिलेका तामाङहरु कुन ल्होछार ठीक र कुन बेठीकको दोधारमा देखिन्छन् ।[3] उनीहरु मुख्यतः दुइवटा विवादमा देखिएका छन्- (१) ल्होछार ‘सोनाम’ मान्ने कि ‘ग्याल्पो’ ? (२) ‘ल्होछार’ भन्ने कि ‘ल्होसार’ ? तेस्रो विवाद पनि देखिन थालेको छ- ल्होछार नयाँ ‘वर्ष’ हो कि ‘चाड’ ? यसै क्रममा हाल ‘सक्कली पात्रो’ र ‘नक्कली पात्रो’ को चर्चा पनि चल्न थालेको छ ।
छ
साङसुङ (कैलाश पर्वत वरिपरि)का प्राचीन आदिवासीहरुले परापूर्व कालदेखि नै ‘लोसार’ मनाउन थालेको कुरा एस. एस. जेर्गन (१९७८, ४१-४३)ले तिब्बत जर्नल (३.३)मा लेखेका छन् । उनी लेख्छन्- “कैलाश पर्वतदेखि दार्दिस्तान सम्मका भूक्षेत्रमा फैलिएका साङसुङ क्षेत्रका आदिवासीहरुले मध्य-जाडो याम अर्थात् पुसमा ल्होसार मनाउँदथे जबकि ब्रम्हपुत्र उपत्यका, तिब्बत र चिनीहरुले बसन्त ऋतुको सुरुतिर अर्थात् माघतिर ल्होसार मनाउँदथ्यो अनि बाल्चिस्तान, दार्दिस्तान, पर्सिया र इराकीहरुले मार्च २१/२२ मा ‘नाउ-रोज’ नयाँ वर्ष मनाउँदथे ।”[4]
साङसुङ प्रदेशका निवासीहरुले पुसमा ल्होछार मनाउनुको कारण प्राचीन, ऐतिहासिक र वैज्ञानिक छ भनेर उनले थुप्रै वैज्ञानिक आधारहरु पेश गरेका छन्।[5] यी आधारहरुले नेपालका आदिवासीले मनाइरहेका उद्यौली, यामरी, माघी, ल्ह फेबा र ल्होछार जस्ता चाडहरुको पृष्ठपोषण गर्दछ ।
जेर्गनले के थपेका छन् भने ब्रम्हपुत्र उपत्यका उत्तरतिरका निवासी र कैलास र म्याउ-लाका दक्षिणतिरका निवासीहरुको ल्होसार मिति गणनामा फरक छ । कैलास-मनसरोवर, सिन्धु उपत्यका र सतलज नदीको दक्षिणतिर बस्नेहरुले सूर्य उतरायान हुँदा मंसिर-पुसमा ल्होछार मनाउँछन् र संयोगवस यो मङ्सिर शुक्ल प्रतिपदामा पर्दछ । यसै गरी कैलास-मनसरोवरको उत्तरतिर बसोबास गर्ने तिब्बतका फिरन्ते जाति (होर) र ब्रम्हपुत्र उपत्यकाका निवासीहरु माघ (माघ शुक्ल प्रतिपदा) मा ल्होछार मनाउँछन् । यस दिन तिब्बत, चीन, भियतनाम, कोरिया र जापानमा पनि ल्होछार मनाउँछन्[6] भनेर तर्क पेश गरेका छन् ।
यस लेखको अध्ययनबाट कैलास-मनोसरोवरका दक्षिणतिरका र उत्तर-पूर्वतिरका ल्होछारको दिन फरक रहेछ भन्ने प्रष्ट हुन्छ । अनि जेर्गनका आधारहरुबाट हिमाली वरिपरिका वासिन्दाहरुको ल्होछारको ऐतिहासिक पक्ष जान्न निकै बलियो टेवा प्रदान गर्दछ । नेपालका आदिवासीहरुको चाडको ऐतिहासिकता खोज्न पनि बल पुगेको छ ।
सात
विभिन्न अध्ययनहरुले के प्रष्ट पारेको छ भने प्राचीन कालमा आदिवासीहरुले जाडो यामबाट मुक्त हुन वा न्यानोको स्वागत गर्नका लागि चाड मनाउँदथे । यस याममा नेपालका आदिवासीहरुको सक्रियताले यसैतिर सङ्केत गर्दछ-
१. गुरुङ अर्थात् तमु समुदायले पुष १५ गतेका दिन (यस वर्ष पौष शुक्ल प्रतिपदाको दिन परेको छ) ‘तमु ल्होछार’ मनाउँछन् ।
२. पुसको शुक्ल प्रतिपदाको दिन मनाइने ल्होछारलाई ‘तोला ल्होछार’ भनिन्छ । यो ल्होछार सिक्किम, भूटान आदि देशहरुमा पनि मनाउँदो रहेछ ।[7]
पुसको पूर्णिमाको दिन ल्हो फेरिन्छ ।
३. तामाङ जातिको फाराप अनुसार “तापा ङ्ह्या”[8] (पुसको पूर्णिमा) को दिन ल्हो फेरिन्छ ।[9]
४. नेपालमा नयाँ वर्षको रुपमा धेरै आदिवासी समुदायले माघ १ गते मनाउँदछन् । तामाङ गाउँघरमा माघ १ गते ‘ल्हो’ फेरिएको ठानिन्छ । यस दिन तामाङ गाउँघरमा जात्रा लाग्दछ । बौद्धका स्थानीय तामाङहरु माघे सङ्क्रान्तिको दिन विवाहित चेलीहरुलाई बोलाएर खाना खुवाउने गर्दछन् । मगर (माघ्य सकराती), थारु (माघी पर्व), छन्त्याल (छारम्हेङ), लिम्बु (कक्फेवा तङनाम) लगायतले पनि आ-आफ्ना चाड मनाउँछन् । यसै दिनदेखि दिन लामो हुने ठान्दछन् । किरात एले सम्वत् पनि यसै दिनदेखि प्रारम्भ हुन्छ । हिन्दुहरुले पनि मकर रेखामा घाम प्रवेश गर्ने अर्थात् घाम उत्तरतिर उन्मुख हुने ठानेर यस दिन माघे सङ्क्रान्ति मान्दछन् । यो वैदिक कालीन अवधारणा हो ।
५. थकालीहरुले ल्ह फेवा (सूर्य उदाउने) यसै अवधिमा मनाउँछन् ।
६. भूगोलवेत्ताहरु डिसेम्बर २१ तारिखमा रात छोटो हुने र २२ तारिख (यस वर्ष पुस ८ परेको छ) देखि दिन लामो हुन्छ भन्छन् ।
७. किरातीहरुले ‘उधौली पर्व’ मंसिरको अन्ततिर पर्दछ । यस वर्ष मङ्सिर २८ गते मरेको थियो । उधौली पर्वका दिन नेवार समुदायले योमरी पुन्ही (पूर्णिमा) मनाए ।
८. सोनाम ल्होछार माघ शुक्ल प्रतिपदाको दिन मनाउँछन् । यो न्यानो दिनकै सन्दर्भ वरिपरि रहेको छ ।
९. ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।
माथिका विभिन्न उदाहरणहरुले के सङ्केत गरेको छ भने नेपालका आदिवासीहरु प्रकृतिसँग नजिकको सम्बन्ध राख्दछन् । दिन लामो र छोटो हुने जस्ता प्राकृतिक घटनाहरुको ख्याल राख्दछन् । जाडो र गर्मी यामको सुरुवात् हुने समयको ख्याल राख्दछन् । मौसम परिवर्तनले दैनिक जीवनमा पार्ने प्रभाव थाहा पाउँदछन् । सम्झनाको लागि चाडपर्वहरु मनाउँदछन् ।
अर्को महत्वपूर्ण कुरो उनीहरु प्रायः पूर्णिमाका दिन वा शुल्क पक्षको प्रतिपदामा ल्हो वा वर्ष फेरिएको ठान्दछन् । औंसी वा अध्याँरो मन पराउँदैनन् । उनीहरु उज्याँलो कामी छन् ।
‘तापा’ ल्होछार, ‘तोला’ ल्होछार, ‘सोनाम’ ल्होछार वा ‘ग्याल्पो’ ल्होछार आदि यसैका उत्पादन मान्नु पर्दछ ।
आठ
प्रारम्भमा ल्होछार प्राकृतिक परिघटना (घामको गतिमा आधारित) मा आधारित ‘प्राकृतिक चाड’ थियो होला । प्राक्-ऐतिहासिक कालमा पशुचरण वा खेतीपातीको लागि अनुकुल मौसम प्रारम्भ भएको ठानियो र कृषिजन्य चाडको रुपमा विकास भयो । पछि यो खुसी बाडने सामाजिक चाडको रुपमा विकास हुन गयो र क्रमशः सांस्कृतिक चाडको रुप लिइयो भन्न सकिने आधारहरु थुप्रै देखिन्छन् । नयाँ वर्षको विभिन्न रुपहरुले पनि यस कुराको सङ्केत गरेको छ ।
८औं सताब्दीमा तिब्बतमा लामा बौद्धधर्मको प्रवेशपछि त्यहाँ मनाउने ल्होछारमा धार्मिक रङ पोतिएको हुन सक्छ । यसलाई स्वाभाविक नै मान्नु पर्दछ । राजनीतिक शक्तिको प्रभावले गर्दा चाड पर्वमा राजनीतिक संस्कृतिको विकास हुनु पनि कुनै अनौठो कुरो होइन । संसारमा विक्रम संवत् लगायतका अनेकौ साल सम्वत् राजा वा राज्य शक्तिको उदयको आधारमा विकास भएको पाइन्छ । राज्य सत्ताले अन्य भन्दा फरक र आफु अनुकुलको ज्योतिष शास्त्रको विकास पनि गर्छ (सौर्य पात्रो हुँदै चन्द्र पात्रको विकास र सौर्य-चन्द्र पात्रोको मिलान आदि), त्यो पनि सत्य कुरो नै हो । ‘तापा’ ल्होछार, ‘तोला’ ल्होछार, ‘सोनाम’ ल्होछार वा ‘ग्याल्पो’ ल्होछार आदि यसैका उत्पादन मान्नु पर्दछ । इतिहासले प्रमाणित गरेको कुरो के हो भने शक्तिविहिनहरु पाखा लाग्छन् र शक्तिशालीहरु सिङ्गौरी खेलिरहन्छन् । अर्को, शास्त्रीय ज्ञानले आफुलाई श्रेष्ठ साबित गर्दै लोकज्ञानलाई कुल्चेरै निमिट्यान्न पार्न चाहन्छ ।
लिम्बु, राई, सुनुवार, गुरुङ, मगर, थारु, नेवार आदि आदिवासी समुदायमा प्राकृतिक चाडले अझै बलियो जड गाडिरहेको भए पनि तामाङ समाजबाट ‘तापा ल्होछार’ पाखा पछारिसकेको छ । सामाजिक-सांस्कृतिक चाडको रुपमा स्थापित ल्होछार धार्मिक चाडको रुपमा विकास हुँदैछ ।
नौ
१. हामी तामाङहरु आदिवासी हौं र आदिवासीको दावी गरिरहेका छौ पनि र आदिवासीको रुपमा सूचीकृत पनि भइसकेका छौं । आदिवासीपन हाम्रो पहिचान हो । यसर्थ परम्परागत रुपमा रहेको ल्होछारलाई स्थानीय चाडको रुपमा र सरकारी विदा घोषणा हुने दिनलाई ‘राष्ट्रिय चाड’को रुपमा मनाउनु आवश्यक छ । यस दिनको प्राप्तिको लागि तामाङ जातिले निकै प्रयास गरेको थियो भनौं यस जातिले श्रम लगानी गरेको छ ।
स्वाभाविक कुरा के हो भने जुन दिन ‘ल्हो’ फेरिन्छ सोही दिन ‘पात्रो’ पनि फेरिन्छ । यो स्वतः सिद्ध कुरो हो । यसमा सक्कली र नक्कली भन्ने प्रश्न नै उठदैन । मूल कुरो पात्रोले साढे ३६५ दिनलाई व्यवस्थापन गर्न सक्नु पर्छ । यो कुनै ज्योतिष परम्परासँग जोडिन पनि सकिन्छ र नजोडिन पनि । हो, एउटा दृष्टिकोणबाट अर्को कमजोर वा कामै नलाग्ने देख्नु कुनै अनौठो कुरो होइऩ ।
२. ठुलो सङ्ख्यामा रहेका र हिमालको फेददेखि मधेसको विसाल फाँटसम्म फैलिएका तामाङहरुले ल्होछार लगायतका विभिन्न र फरक फरक चाडपर्व मनाउँदा कुनै अनौठो वा अप्ठ्यारो मान्नु पर्ने वा विवाद उठाउनु पर्ने कुरो केही देख्दिनँ । भौगोलिक विविधताले सांस्कृतिक विविधता जन्माउँछ नै । लामो इतिहास बोकेको समुदायहरुले यस्तो विवादको सामना गर्नु पर्छ नै ।
नेपालका यादवहरु चारवटा भाषा बोल्छन्- धनुषाका यादवहरु मैथिली, विरगञ्जका यादवहरु भोजपुरी र कपिलवस्तुका यादवहरु अवधी बोल्दछन् र विरगञ्ज पूर्वतिरकाहरु कुनै बज्जिका । तर उनीहरुका धर्म र संस्कार भने एउटै छ र उनीहरु आफुलाई ‘यादव’ नै भन्छन् । नेपालका नेवारहरु हिनयानी र महायानी वौद्ध धर्मका साथै हिन्दू, मुस्लिम र इसाई धर्महरुमा अभ्यस्त छन् । तर सबैले ‘नेवार’ भनिरहेका छन् र ‘नेवार भाषा’ बोलिरहेका छन् ।
म त तामाङहरु पनि त्यसै दिशातिर उन्मूख भइरहेको देखिरहेको छुँ । तराईका यादवहरुलाई धर्मले जोडेको छ र नेवारहरुलाई भाषाले । तामाङको सन्दर्भमा हेर्दा धर्मले तामाङहरुलाई गहिरो खाल्डोमा फसाउँदै विभाजित गर्दैछ । अब तामाङहरुलाई गाँसिराख्ने सूत्र ‘पूर्ख्यौली इतिहास’ र ‘भाषा’ मात्र हुनेछ ।
३. अबको मूल कुरा बचेखुचेका तामाङ जातिका मौलिक पहिचान, सम्पदा र सभ्यतालाई के, कति र कहिलेसम्म थाम्ने वा थेक्ने भन्ने मात्र हो । तामाङ दर्शन, संस्कृति र सभ्यतालाई वाह्य चिन्तन दर्शन र सभ्यताले मात्र गाँजेको छैन दुइ तिरका प्रभावशाली संस्कृतिहरुले पनि ङ्याकेको ङ्याकेकै छ र यिनबाट उन्मुक्ति पाउन सजिलो छैन पनि । विश्वका अन्य प्रभावशाली धर्म तथा संस्कृतिहरु पनि सुटुक्क पसिसकेका छन् । नयाँ नयाँ प्रविधिले गर्दा उनीहरु झन् प्रभावशाली बन्दै पनि छन् । नेपालको झोले राजनीतिक संस्कृतिले त झन् साह्रो चिमोटेको छ र चिमोटिदै छ । मैले तामाङ जाति महासङ्कटमा फसिसकेको महसुस गरिरहेको छुँ ।
तामाङ पहिचान रक्षाको लागि अब हामी गम्भिर हुन र सचेत हुन आवश्यक छ ।
अब के गर्ने ? हाम्रो रणनीति के हुने ? गहन ढङ्गले सोच्नु आवश्यक छ । शित रक्तधारी जीवहरु झै गरी शितनिद्रा (Hibernation)मा बस्नु पनि उचित हुन सक्दछ । शित निद्रामा बस्नु भनेको शक्ति सञ्चय गर्नु हो र आफ्नो जातिको गौरवशाली इतिहास लेख्न प्रारम्भ गर्नु पनि हो अनि पहिचानका मूल जरालाई संरक्षण र मलजल गरिरहनु पनि हो । अर्को, फरक मतवालीसँग खुल्लमखुल्ला सिंगौरी खेल्न पनि सकिन्छ, ‘जेहाद’ नै छेडन पनि सकिन्छ । अन्य उपायहरु पनि खोजिनु पर्दछ ।
तामाङ पहिचान रक्षाको लागि अब हामी गम्भिर हुन र सचेत हुन आवश्यक छ ।
‘ज्या ल्होछार’ सन् २०१७ को शुभ उपलक्ष्यमा पाठकहरुमा शुभकामना ! आदिवासी तामाङको मौलिक पहिचान जोहो गर्न यहाँहरु सबैको जाँगर सल्बलाइ रहोस् ।
(भाषाविद अमृत याेञ्जन तामाङकाे फेसबुकबाट साभार)
नाेट ः
[1] मोक्तान, दुपवाङगेल (२०१५) लेख्छन्- “पुस पूर्णिमालाई तामाङहरु ‘तापा ङ्ह्या’ भन्दछन् । …. परापूर्वकालदेखि नै अधिकांस तामाङहरुले यस पूर्णिमा (तापा ङ्ह्या) नै ल्हो फेरिन्छ भन्ने मान्यता राख्दै आएको पाइन्छ” (पृ. ४) तामाङ र ल्होछार । तर परशुराम तामाङ (२०५५)ले ल्होछार परम्परा शीर्षक पुस्तकमा “तामाङ मुदिङले पौष पूर्णिमालाई ल्होछार मान्दछ, जुन एशियामा चलेको कुनै पनि चन्द्र पात्रो परम्परा सहमत छैन” (पृ २२) भनेर फरक मत प्रकट गरेका छन्।
[2] यस सम्वन्धमा शिवराज आचार्य कौण्डिन्यायनले लेखेका निम्न कुरा पनि मननीय छ- “मूल वैदिक नववर्षारम्भ तपःशुक्ल-प्रतिपदा में (वैदिक आर्तव माघ-शुक्लप्रतिपदा में) होता है। चैत्रशुक्लप्रतिपदा में नहीं, मेषसङ्क्रान्ति में नहीं।” (जनवरी २०१७, राम लोहनीको फेसबुक वालमा) । यहाँ ‘तापा’ र ‘तपः’ शब्दको सम्वन्ध खोज्न सकिन्छ। र अर्को कुरा ‘तापा’ भनेको पुस हो कि माघ हो- जान्नु पर्ने भएको छ।
[3] यस ल्होछारका प्रमूख अभ्यासकर्ता मध्येका एक आचार्य कमल मोक्तान (२०५४)ले पनि तोला ल्होछार र सोनाम ल्होछारको अस्तित्वलाई नकारेका छैनन् (उनले लामो चर्चा गरेका छन्) । उनले यी ल्होछारहरुको पात्रो नभएकोले आधिकारिक ल्होछार होइनन् भनेका मात्र हुन् । हे. लोसार एक परिचय (पृ.५-७)। आधिकारिकताको प्रश्न राणा शासकहरुको ‘ल्याइते’ र ‘ब्याइते’को सन्तान भने जस्तै मात्र हो। यो सामान्य प्रवृत्ति हो। विश्वका अधिकांस विश्वविद्यालयहरुले ‘लोकसाहित्य’लाई सहजै स्वीकारेका हुदैनन्। नेपालका कुनै पनि विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘लोकसाहित्य विभाग’ खोलेका छैनन्।
[4] “The people of the ancient Zhan-Zhung from Kailash to Dardistan celebrate the mid-winter Lo-sar in December/ January, while other inhabitants the Brahmaputra valley, Tibet and China celebrating their Lo-sar in early spring, in February/ March, and the people of Baltistan, Dardistan and Persia and Iraq celebrate their ‘Nau-Roz’ New Year at the vernal equinox of 21/22 March.”
[5] “The Lo-sar celebration in mid-winter by the inhabitants of Zhan-Zhung has ancient. historical and scientific background.”
[6] “The people living in the region to the north of the Brahmanputra Valley and the people inhabiting the southern side of the Kailash and Myaum-La differ in the calculation of other Lo-sar dates. Those belonging to the southern side of Kailash-Manasarovar, the valley of the Indus and Sutlej Rivers calculate their Lo-sar at the time the sun begins its northward journey (December), coinciding with the Margashirsha, Shukla Pratipad, as observed in the day of the Mahabharata.” “The Tibetan nomads (Hor) living in the northern side of the Kailash-Manasarovar and the Brahmaputra Valley observes their Lo-sar in January/February (Magha Shukla Pratipad), which is also the Lo-sar of Tibet, China, Vietnam, Korea and Japan.” – S.S. Gergan (1978) ‘The Lo-sar of Ladakh, Spiti, Lahul, Khunnu and Western Tibet’, The Tibetan Journal 3.3 pp 41-43
[7] “यो (तोला) ल्होछार मार्गशीर्ष महिनाको अन्त्य र पौष महिनाको सुरुवाततिर अर्थात् पौष शुक्ल प्रतिपदाका दिन पर्दछ। … तिव्वतीहरुको विचारमा यो ‘तोला ल्होछार’ भनेको मूल ल्होछारको पूर्व तयारी मात्र हो। यो सिक्किम र भुटानमा मानिन्छ भन्ने बुझिएको छ। पहिले यो तिब्बतको कुनै प्रान्तमा प्रचलनमा थियो।” (पृ. ६) परशुराम तामाङ (ल्होछार परम्परा २०५५)।
[8] मोक्तान, दुपवाङगेल (२०१५) लेख्छन्- “पुस पूर्णिमालाई तामाङहरु ‘तापा ङ्ह्या’ भन्दछन् । …. परापूर्वकालदेखि नै अधिकांस तामाङहरुले यस पूर्णिमा (तापा ङ्ह्या) नै ल्हो फेरिन्छ भन्ने मान्यता राख्दै आएको पाइन्छ” (पृ. ४) तामाङ र ल्होछार । तर परशुराम तामाङ (२०५५)ले ल्होछार परम्परा शीर्षक पुस्तकमा “तामाङ मुदिङले पौष पूर्णिमालाई ल्होछार मान्दछ, जुन एशियामा चलेको कुनै पनि चन्द्र पात्रो परम्परा सहमत छैन” (पृ २२) भनेर फरक मत प्रकट गरेका छन्।
[9] यस सम्वन्धमा शिवराज आचार्य कौण्डिन्यायनले लेखेका निम्न कुरा पनि मननीय छ- “मूल वैदिक नववर्षारम्भ तपःशुक्ल-प्रतिपदा में (वैदिक आर्तव माघ-शुक्लप्रतिपदा में) होता है। चैत्रशुक्लप्रतिपदा में नहीं, मेषसङ्क्रान्ति में नहीं।” (जनवरी २०१७, राम लोहनीको फेसबुक वालमा) । यहाँ ‘तापा’ र ‘तपः’ शब्दको सम्वन्ध खोज्न सकिन्छ। र अर्को कुरा ‘तापा’ भनेको पुस हो कि माघ हो- जान्नु पर्ने भएको छ।
-Source:sailung online