शेर्पा शब्द हिमाली भाषाको “श्यार” (पूर्व) र “पा” (मानिस) गरी दुई शव्दको संयोजनले भनेको हो भन्नेमा दुई मत छैन । शेर्पा शब्दको शब्दिक अर्थ पूर्वको बासिन्दा या पूर्वेली भन्ने बुझाउँदछ । आदिम कालमा शेर्पाहरु चीनको स्वाशासित क्षेत्रका पूर्वी भोट (ल्हासा) को सिचुवान र खाम क्षेत्राबाट आएको हुनले त्यही समय देखि नै शेर्पालाई (पूर्वेली) भनेर सम्बोधन गर्न थालिएको हो ।

शेर्पाहरु मङ्गोलियन – भोट मुलको जाति हो । शेर्पा समाजमा विराजमान श्रद्धेय लामा गुरूहरू, शेर्पा समाजमा स्विदेशी तथा विदेशी विद्वान वर्गले कलम चलाएका लेख रचनाहरू, शेर्पा गाउँ ठाउँका बुढा पाकाहरूले निरन्तर सुनाउँदै आएको मौलिक दन्ते कथाहरू र अन्य विद्यमान स्रोतहरूबाट प्राप्त आधारहरूलाई मान्दा शेर्पाहरु ल्हासाको पूर्वी क्षेत्रा हुदै नै संसारको अन्य भागमा फैलिएको हुन् भन्न सकिन्ने आधारहरु प्रशस्तै छन् । शेर्पाहरुको वेशभूषा र लोक आचरण जस्ता मौलिक चिनारीहरुले पनि शेर्पाहरु भोट मुलको जाति हो भनेर स्पष्ट चिनाउद छ । आर्थिक, सांस्कृतिक तथा लिपि र भाषा व्याकरणको मूल पृष्ठभूमि पनि तिब्बती (हिमाली) परम्परासँग मेल खान्छ । शेर्पाहरुले परपूर्वकाल देखि मान्दै आएको धर्म महायान लामा परम्परा अन्तर्गत बौद्ध धर्म सम्प्रदाय भित्र पर्ने ङ्यीङमा (पुरानो) हो । खाम भनेको बौद्धधर्मको परम्परादेखिकै जन्मथलो हो ।

शेर्पाहरुको बारेमा विस्तृत खोज अनुसन्धान मूख्यतः अड्कल कै भरमा भए पनि चासो देखाई कलम चलाउने काम इ। सं। १९५३ मे २९ तारिक तदनुसार वि। सं। २०१० ज्येठ १६ गते शुक्रबारका दिन, जब तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलेरीले विश्वको सबैभन्द अग्लो हिम चुचुरा सगरमाथा (चोमोलुङमो)को सफल आरोहण पश्चात् भएको पाइन्छ । प्रारम्भिक चराणमा यस्ता लेखरचनाहरू विदेशीहरुले शुरु गरे तापनि पछि यसले व्यपाकता पाउँदै गयो । त्यसैले शेर्पाहरु संसरमा चाँडै चिनिएको जातिको रुपमा अगाडि आयो । विदेशीहरुले, कर्मठ शेर्पाहरुको उच्च पर्वतीय वातावरणसँग लड्नसक्ने क्षमता र ईमान्दारीता देखेर शेर्पाहरुको हात समतेर हिमाल चड्न सुरु गरे, साथमा उनिहरुले शेर्पाहरुको बारेमा कलम पनि चलाउन सुरु गरे । शेर्पा जातिको इतिहास, सँस्कृति, वंश (थर)हरुको खोज, अनुसन्धान हुन थाले । शेर्पाहरुलाई संसारमा ईमानदार, लगनशील, सहनशील र मिलनसार जाति भनेर चिनिन्न थाल्यो । पछि नेपाल देश संसरमा शेर्पाकै नामबाट बढी परिचित हुँदै आएको छ । आझै पनि युरोपेली र आमेरिका लगायत अन्य धेरै मुलुकका नागरिकहरुलाई शेर्पाको देश अथवा हिमालको मुलुक भनेर नेपालको परिचय दिनु पर्ने अवस्था त छँदैछ ।

संसरको विद्यमान इतिहासलाई नियाल्दा शेर्पाहरू परपूर्वकालदेखि नै नेपालको विभिन्न भू-भागमा बसोवास गर्दै आएको तथ्यहरू प्रमाणित हुदै आएकोछ । विडम्वना, शुरुवातीमा शेर्पाहरुको बारेमा खोज अनुसन्धानको दायरा फरकिलो हुन सकेन । सिमित स्रोत साधानको अभाव र अन्य क्षेत्रमा बसोवास गर्दै आएको शेर्पाहरुको बारे पर्याप्त ज्ञानको कमीले गर्दा सोलुखुम्बु जिल्लाको केही भाग, विषेशगरी सिमित खुम्बु क्षेत्रलाई मात्र केन्द्रमा राखेर गरेको देखिन्छ । प्रारम्भिक चराणका विदेशी शोधकर्ताहरुले गरेको खोज अनुसन्धानमा शेर्पाहरु सबै नाङपाला भएर खुम्बु उपत्यका हुँदै नेपालको अन्य क्षेत्रामा विस्तार भएको निष्कर्षमा पुगेको पाइन्छ । आदिकलदेखि नै समान भाषा, धर्म लगायतका अन्य शेर्पा मौलिक परम्परालाई आफ्नो अभिन्न अङ्गको रुपमा अँगाल्दै आएको खुम्बु उपत्यका बाहेक भिन्नाभिन्नै खोला र उपत्यकामा बसोवास गर्दै आएको ती क्षेत्रका शेर्पाहरुलाई वास्तै नगरी पुस्तक पनि प्रकाशित गरी दिएँ । अष्ट्रीयाको नागरिक मानवजातिविद् क्रिस्टोफ् वोन फुरर ह्यमानड्रोफ् [Christoph Von Furer-Haimendorf] नामका लेखकले सन् १९५३ देखि १९६२ सम्म अध्ययन गरेको भनिएको “The Sherpas of Nepal: Buddhist Highlanders” शीर्षकमा शेर्पाहरुको बारेमा निकै गहिरो अध्ययन गरि लेखेको पहिलो पुस्तकको रुपमा बजरमा आएको पाइन्छ । त्यसपछि त शेर्पाहरुको बारेमा पुस्तक लेख्ने लेखकहरुको लहरनै चालेको पाइन्छ ।

समयको रफ्तार संगै त्यही बिदेशीको लेखलाई आधार मान्दै अन्य स्वदेशी र बिदेशी शोधकर्ताहरुले सोलुखुम्बुको छिमेकी जिल्ला रामेछाप र दोल्खलामा अनुसन्धान अघि बढाएको पाइन्छ । शेर्पाहरु बाक्लो बास्तीकै रुपमा नेपालको उत्तरी (हिमाली) जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, संखुवा सभा, भोजपुर, दिक्तेल, सोलुखुम्बु, ओखल्ढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, रासुवा र गोरखामा पाइन्छ भने छिटफुटरुपमा अन्य धेरै जिल्लाहरुमा शेर्पाहरुको शताब्दीऔ देखि बसोवास गरेको अनुमान विभिन्न शोधकर्ताहरुको खोज अनुसन्धानहरुबाट खुल्न आउँछन् । त्यसैगरि भारतको दार्जिलिङ, कालिङपोङ, सिक्किम, आसाम, मणिपुर लगायत जिल्लाहरुमा र भुटानमा पनि आफ्नो परम्परा र धर्म साथै लिएर बसोवास गर्दै आएका शेर्पाहरुछन् । त्यास्तै चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न जिल्लाहरु ट्रिटाङ जिल्लाको टिङके जोङ, रोङसार जिल्लाको दिङरी टिङके लगायतमा पनि शेर्पाहरुको बसोवास रहेको उल्लेखछ । अनि चीनकै विभिन्न स्थानहरुमा बाक्लो बस्तीको रुपमा शेर्पाहरुकै परम्परागत ङ्यीङमा बौद्ध धर्मलाई आझै पनि अंगाल्दै आएको जातिहरु छन् । यिनीहरु कुन समुदायबाट आएको जातिहरुहुन् भनि परिचय गराएको छैन् । चीनमा बसोवास गर्दै आएका यी जातिहरुको अध्ययन अनुसन्धान गर्न बाँकी छ ।
त्यासैले संसरमा यत्तिका धेरै क्षेत्रमा छरिएर रहेको शेर्पाहरुको बारेमा विस्तृत अध्ययन नै नगरी मात्रै नेपालको ३ जिल्ला सोलुखुम्बु, रामेछाप र दोल्खालाई मात्रै ध्यान केन्द्रित गरेको लेखहरुलाई आधार ठानेर सबै शेर्पाहरु खुम्बु क्षेत्रबाटै अन्य क्षेत्रमा विस्तार भएको भन्न चाही अलिक न्यायोचित नहोला कि ?

लेखकहरुले शेर्पाहरु हाल नेपालको भु-भागमा आईपुगेको मितिहरु धेरै फरक पारेको पाइन्छ । लेखकहरुले अ–आफ्नै अड्कलहरु सम्प्रेषण गरेको पाइन्छ । एकरुपता नपाउँदा यो विषयमा विरोधाभास स्वरहरु पनि उठ्ने गरेकोछ ।

यस्तै लेखहरुलाई आधार मान्ने हो भने शेर्पाहरु खुम्बु क्षेत्र (हाल नेपालमो भूमि)मा पहिला आईपुगेको मितिलाई ता केहि हत सम्म स्वीकार्न सकिएला, तर भौगोलिक विशेषता र त्यो समयको हावापानीलाई फर्केर बिचार गर्ने हो भने शुरुको शेर्पा खुम्बु क्षेत्रमा आईपुगेर खुम्बु क्षेत्रबाटै नेपालको अन्य क्षेत्रमा विस्तार भएको कुरा चाँही स्वीकार्न गाह्रो छ । किन भने उच्च हिमालयको भु-भागमा नाङपाला भन्दा हजारौ मिटर होचो र सहज रुपमा पार गरी दक्षिणतिर आउन सकिने भन्ज्याड़हरु हुनु, हावापानीको दृष्टिले खुम्बु क्षेत्रा भन्दा आझै उपयूक्त र उपजाऊ उपत्यकाहरु हुनु, र त्यो समयमा ठुला ठुला नादीहरुमाथि पुल नहुनु । यि र यस्तै विषयहरुमाथि विचार गर्दा सबै शेर्पाहरु खुम्बु क्षेत्रबाटै अन्य क्षेत्रमा विस्तार भएको कुरा जो कसैलाई पनि हाँस्यास्पद लाग्न सक्छ ।

भौगोलिक विविधता र अन्य सम्भव्य स्रोतहरुको अध्ययन गर्दा शेर्पाहरु शालमोगाङदेखि समूह बाँधेर स्थानान्तरण भएर आएको विषय मान्न सकिन्छ, तर उच्च हिमालयको आसपास आईसकेपछि चाँही संभवतः उच्च हिमघाँटीहरु छिचोल्दै भिन्न भिन्न समूहमा कोही भुटानतिर, कोही सिक्किम तिर झरे भने त्यसैगरि कोही चोमोलुङमो (सगरमाथा)को नजिकै हुँदै पश्चिम तिर बढे र भिन्न भिन्न संभवय हिमघाँटीहरु पार गर्दै हाल नेपालको भु-भागतिर झरेर उच्च हिमालयको दक्षिणी भेकतिर हिमालचुलिको काख, कन्दराहरुमा स–सना बस्तीहरु बसाएर बस्न थालेकोले नेपालको धेरै जिल्लाहरु लगायत सिक्किम र भुटानमा शेर्पाहरुको उल्लेखीय बसोबास हुन गएको हुनु पर्दछ ।

भूगोल र ऐतिहासिक निशानीहरुको पुरानो नामहरुलाई आधार मान्ने हो भने शेर्पाहरु ईसापूर्व देखि नै काठमाण्डौं उपत्यका लगायत हाल नेपालको अन्य भागमा रहेको देखाउछ । स्वयम्भू र बौद्ध चैत्यहरु ता कसरी र कस्ले निर्माण गरे विद्यमान किंवदन्ती बहेक मिति स्पष्ट किटान छैन । तर चावहिलको धम्बो चैत्यलाई सालोक्पा, दोलोक्पा भनेर सम्बोधन गर्छन् । यसो भन्नुको तात्पर्य माटो ढुङ्गा उप्किन्न बुझिन्छ । चैत्य निर्माणको समयमा माटो र ढुङ्गा उप्किन गएकोले यस्तो भनिएको हो । त्यस्तै, शेर्पा भाषामा फर्पिङलाई याङ्लाशे, हलेसीलाई टाकफ्यूक वा मारातिका, थानकोटलाई फिञ्जु भनिन्छ । मानव जातिको विकास सँगै नेपालमा नै बसोवास गर्दै आएका शेर्पा जातिहरू तत्कालिन राजा मानदेव, लिक्षिवी राजा देखि तत्कालिन बाईसे र चौविसे राज्यका बेला पनि राज्य संचालन तथा राज्य सञ्चालकको पहरेदारको रूपमा रहेको पनि इतिहासहरूमा पाइन्छ । जातीय रूपमा शिदा र सोझा शेर्पा जातिहरू त्यस वेला देखि नै अन्य टाठाबाठाहरूले दासको रूपमा प्रयोग गर्दै विभिन्न चर्को तथा गाह्रो काम तथा भूभागमा पठाउने गरेको भन्ने ईतिहासमा प्रमाणित छ । जस्ले जे लेखे तापनि इतिहासकारहरुले पनि शेर्पा जातिको इतिहास ईसापूर्वकै देखाएका छन् । त्यसैले शेर्पा जाति नेपालको आदिवासी हो ।

सामन्ती कालमा तथाकथित उपल्लो जातिले आफ्नो जातिले सधै आरुमाथी आफ्नो प्रभुत्व जमाई राख्न पाउन् भनी लादिएको नितिबाट प्रेरित भएर लेखिएको लेखहरुको आधारमा आज २१ औं शताब्दी जुन संसारले स्वीकारेका परिवर्तित समयमा पनि तल्लो र मथिल्लो जात वा थर भनी वर्गीकरण गर्नुको औचित्य छैन । शेर्पाहरुलाई राज्यका तथाकथित उपल्लो जातिका मानिसहरुले तेन्जिङ नोर्गे शेर्पाले सगरमाथमा पहिलो पटक पाईला टेकेपछि मात्र नेपालका शेर्पाहरूलाई शेर्पा भनेर भन्न थालेको अन्यथा पहिला “भोटे” (भोटबासी) भनेको पाइन्छ । तर यर्थाथ र ईतिहासमा के प्रमाणित छ भने शेर्पाहरुलाई तत्कालिन शासक वर्गहरुले तिब्बतियन शरनार्थीको उपमा राखी “भोटे” (भोटबासी) भन्ने गरेको र नेपालबाट नै विस्थापित गर्न खोज्नु नै हो । कुनै पनि हलतमा राज्य संचालनको महत्वपूर्ण स्थानसम्म पुग्न नदिनु चाल हो । शेर्पाहरुले बसोवास गरेको थलो भोट-नेपाल सन्धि हुनु सयौं वर्ष पहिलेदेखिको हो । त्यो क्षेत्रमा नेपाल राज्यको उपस्थितिहुनु शताब्दीयौं पूर्वदेखि नै शेर्पाहरु आफ्नो आदिभूमिमा अलगै विषेशता स्थापना गरेर बसेको हुनले भोटे भनेको मन पराउदैनन् । भोटे भनेको भोटबासी हो तर शेर्पाहरु नेपालको हिमाली क्षेत्रमा प्राचीन समयदेखि बसोवास गर्दै आएको आदिवासी, त्यो भूमिको भूमिपुत्र हो । पछिल्लो दिनहरुमा शेर्पाहरु राज्यका विभिन्न निकायहरुमा आफ्नो अस्तित्वको लागि संघर्ष गर्दै र संलग्नता देखाउँदै आएका छन् । आफ्नो हक, अधिकारको निम्ति अग्रसर हुनु पर्दछ भन्ने चेतनास्तर वृद्धि हुँदै आएको छ । अहिले आएर आफ्नो जातीय स्वाभिमान र जागरणको निम्ति संगठित हुँदै आघि बढिरहेको छ । यो परिवर्तनको पक्षमा चालेको कदम अनुकरणीय छ ।

————————————————————————————————————————————————————————————————————————-

कुनै पनि समुदायको चर्चा परिचर्चा गर्नपूर्व त्यो समुदायको पौराणिक या आधुनिक वीर यौद्धहरुको बारेमा थोरै व्याख्या गर्दा विषयवस्तु अलिक चाखलाग्दो होला कि …। श्याम समुदायको पौराणिक हिरो कृष्ण बाहेक अरु अन्याय र असमानताको विरुद्धमा लडेका यौद्ध दक्षिण अफ्रिकाका नेल्सन मण्डेलालाई लिन सकिन्छ । उहाँ काला र गोरा जातिवादीहरुको बीचको समस्या समधानका कडी सावित भइसकेको छ ।

केही इतिहास विद्हरूले प्राग इतिहासकालमा शेर्पाको पुर्खहरु मङ्गोलियाबाट शिश्वा आएर शिश्वा साम्राज्य स्थापना गरेर बसेका जातिहरू हुन् भनिएका छन् । यिनीहरू दोङशुल च्याङ वा मिञाग दोङ शुलवाको सन्तानबाट विस्तार भएका अनुमान गरिन्छ । शेर्पाको पुर्खहरु, समयको कालखण्डहरु पारगर्दै जाँदा शिश्वादेखि पश्चिम खाम क्षेत्रतिर स्थानान्तरण हुँदै आएको भनिन्छ । यसमा कत्तिको सत्यता छ, त्यो त सार्थक अनुसन्धान पछि नै स्पष्ट होला । यद्यपि, यहाँ भन्दा पछि इतिहासविद्हरुले चित्रण गरेका घट्नाक्रमहरुमा, खाम क्षेत्रा शेर्पाहरुको आदिभूमि भएको सशक्त प्रस्तुत गरेको भेटिन्छ । खाम आएर खामको शालमोगाङ र अन्य क्षेत्रमा आफ्नो मातृभूमि स्थापना गरी बसेको थियो । भोटमा बौद्ध धर्मको अगमन पूर्व शेर्पाहरुको पनि कुनै अन्य धर्ममाथि आस्था थियो होला । तर सातौं शातब्दी पछि भोटमा बौद्ध धर्मको प्रवेश पश्चात् शेर्पाहरुले ङ्यीङमा परम्परालाई मान्न थालेको र हालसम्म पनि यही धर्मलाई निरन्तरता दिएको पाइन्छ । पछि आफ्नो मातृभूमि छोड्नु पर्ने कारण यकिन भन्न नसके तापनि उत्तरमा मंगोलसँग धार्मिक राजनीतिक तनाव politico-religious tension सिर्जना भएपछि आफ्नो धार्मिक र जातीय अस्तित्व जोगाउन आफ्नो भूमि छोड्नु परेको अनुमान छ । आन्तरिक र बाह्य राजनीतिक संघर्ष चर्किएपछि आझै पश्चिम तिर हाँकिए र ल्हासा आई पुगे । ल्हासामा आई पुगपछि केहि समय रोकिए, तर त्यहाँका स्थानीयहरुसँग यिनीहरुको भाषा र जीवन पद्धति नमिल्द त्यहाँ बस्न असहज हुने ठानेर निरन्तर पश्चिम तिर अगाडि बाढे र भोटको मध्यक्षेत्र ठिङग्री आई पुगे भनिएकोछ ।

केही इतिहासकारहरुको लेखलाई आधार मान्ने हो भने शेर्पाहरु १० औ शताब्दी तिर नै खामबाट स्थानान्तरण हुँदै चोमोलुङमो (सगरमाथा) आसपास आइपुगेको र पटक पटक खाम फर्किने र आउने गरेको कथनहरु पनि छन् । पछि भोटमा मुस्लिम अतिवादीहरुले आक्रमण गरी राजनीतिक अस्थिरता सिर्जना भएपछि, सुरक्षित भूमिको खोजमा पहिलो व्यक्ति (शेर्पा) सन् १५३३ मा हाल नेपालको सोलुखुम्बु जिल्ला र भोट (चीन)को सिमानामा पर्ने समुद्री सतहदेखि ५,८०० मिटरमा पार्ने नाङपाला (हिम भन्ज्याड़) पार गरी खुम्बु क्षेत्रमा आइपुगे हो भनिन्छ । यसै ऐतिहासिक व्यक्तिको नामबाट (खु भनेको ठाउँ र बु भनेको व्यक्ति, अर्थत व्यक्तिले पत्ता लगाएको भूमि)को नाम त्यास क्षेत्रको रहन गएको हो भनिएको छ । त्यास पछि, अलग अलग समयमा भिन्न भिन्न समूह भएर अरु शेर्पाहरु पनि आएर बिस्तरै सोलुतिर झरेर अन्य स्थानहरुमा स्थानान्तरण भएको हो भनिन्छ । आजकल धेरै जस्तो शेर्पा इतिहास विद्हरू अधिकांशले यो अवधारणा ठीक भएको मानेका छन् ।

तत्कालिन समयमा एउटै राज्य परम्पराको विकास नभएको । त्यो समयमा एकले आर्कोलाई वास्ता गरिराख्ने त कुरै भएन । उपयुक्त हावा पानी र खेती योग्य जमिनको खोजी गर्दै एक समूहबाट आर्को समूह छुड्दै गएको हुनु पर्दछ । छुटेर एकठाउँबाट आर्को ठाउँमा पुगीसकेपछि भौगोलिक अगम्यताको कारण अरुसँग सम्बन्ध टाढा हुने नै भयो । समय बित्दै जदा भाषा र चाल चलनमा सानोतिनो भिन्नता आएको पक्कै हो । यस्तो अवस्थामा बसोवास गर्दै आएका शेर्पाहरुको बारे थप अनुसनधान नगरि यिनीहरु शेर्पा नै होइनन् कि भनि अवहेलित द्दष्टिले हेर्ने दुःखलाग्दो परिदृश्यहरु पनि हाम्रो शेर्पा समाजमा यदाकदा देखिन्छन् । शेर्पाको धर्म वा सँँस्कृतिसँग मेल नखाने बेथितिहरु छन् भने उचित प्रशिक्षण, परामर्श वा सरसल्लाह दिएर सुधार उन्मूख कदम चाल्नु बुद्धिमानी हुन्छ । त्यो समयको सामन्ती समाजबाट प्रेरित भई आफ्नो जात वा थरले मात्र साँधै आरुमाथि हैकम चलाउने प्रवृत्ति र दासता मानसिक्ता पाल्नु अहिले आएर यो सरासर मनवताविरोधी कार्य हो भन्ने कुरा हामीले बुज्नु पर्ने अबश्यक्ता छ ।

अहिले आएर शेर्पाहरुको थर, उपाथर र अन्य चाल चलनहरुको बारेमा फलाक्ने काम पनि त्यही बिदेशीले लेखेकै लेखलाई नै आधार मानेको पाइन्छ । तर भिन्नाभिन्नै खोला र उपत्यकामा शताब्दीयौंदेखि बसोबास गर्दै आएको र त्यहाँ आई पुग्दा आफ्नै किसिमको थर-उपथरहरु थियो होला या पछि निर्माण भई एक अर्कामा विवाह सम्बन्ध गाँस्दै आएको परिवेषलाई पछाडि पारेर यस्तो नियमको नक्कल गर्दै जानेहरु पनि कम छैनन् । यो अदूरदर्शीताको नक्कल गर्दा अवश्यक ज्ञानको अभावमा चेली-माइती विचमा नै विवाह सम्बन्ध बाँधिएको पायो भने त्यो अवस्था शेर्पा समाजमा कत्तिको असहनीय र लज्जास्पद होला ? अरुको नक्कल गर्न पूर्व यता पनि एकचोटि गम्भीर भएर सोच्ने कि ?

आदिकालतिर उच्च हिमाली भु-भागलाई आफ्नो आदिभूमिको रुपमा मनपराएका शेर्पाहरु समयको गतिसँगसँगै सहज हावापानी र परिस्थिति अनुकुल सुबिधा सम्पन्न स्थानतिर स्थानान्तरण हुँदै हाल नेपालको राजधानी काठमाण्डौं र बिभिन्न भु-भागको साथसाथै भारत, यूरोप, आमेरिका लगायत अधिकांश मुलुकहरुमा आफ्नो बसोवास थलोकोरुपमा मनपराउन थालेको पाइन्छ ।

शेर्पाहरुको परम्परागत पेशा पशुपालन, खेती र ब्यापार हो । अझै पनि बहुसँख्याक शेर्पाहरु आफ्नो परम्परागत पेशासँगै रमाइ रहेका छन् । सन् १९५० देखि विदेशीहरुको लागि नेपालको ढोका खुल्ला भयो । तात्पश्चात् नेपालमा पर्वतीय पर्यटनको आगमनसँगै शेर्पाहरु पर्यटनसँग सम्बन्धित विभिन्न पेशाहरुमा आबद्ध रहि अ–आफ्नो क्षेत्रमा कार्यकुशलताको निपुणता प्रस्तुत गर्दै देश–बिदेशमा व्यवसायीकरुपले स्थापित हुँदै आएको छ । शेर्पाहरु कर्मठ, साहसिक पर्वतीय पथ-प्रदर्शक हुन् भन्नेमा साहसि खेलको दुनियाँमा शंका छैन । पर्वतारोहण पेशामा धेरै शेर्पाहरुले प्रसिद्धि र पैसा पनि कमाएका छन् । तर यो पेशा सुरक्षको द्दृस्टिले चरम खतरा मानिन्छ । प्रत्येक वर्ष शेर्पाहरुले हिमालमा ज्यान गुमाउनु पर्ने र उहाँहरुको सन्ततिले आर्थिक र सामाजिक कठिनाइहरु खेप्नु पर्ने दुखत तितो सत्य हाम्रो सामुन्ने चुनौतिकोरुपमा उभिएको छ । शेर्पाहरुले अब पर्वतारोहण पेशाको विकल्प खोज्नु पर्छ भन्ने लाग्छ ।

हामी शेर्पाहरु सँस्कृतिमा पनि उत्तिकै धनि छौं । हाम्रो आफ्नै मौलिक लोक बाजाहरु छन् । धार्मिक र साँस्कृतिक सँस्कारहरुमा गाउँने गीतहरु र बाजाहरु पृथक् छन् । फरक, फरक रीति, रिवाजहरुमा छुट्टाछुट्टै गीतहरु गाउँने र बाजाहरु प्रयोग गर्ने प्रचलन छ । शेर्पाहरुको जन्म, विवाह, मरण जस्ता धार्मिक र सँस्कृतिक सँस्कारहरुमा बौद्ध धार्मिक लामा पुरोहितको मुख्य भुमिका रहने गर्दछ ।

विश्वव्यापी शेर्पा समुदायभित्र समयको गति सँगै शेर्पा भाषा र सामाजिक आचरणहरुमा केहि भिन्नता आएको देखिन्छ । यो खास गरि साँस्कृतिक र भाषिक विविधतायुत्त समुदायहरुको समीपमा बसोवास गरेका शेर्पाहरु भित्र बाढी हुनु आश्चर्यको कुरा भएन । केही फरक देखिनु स्वभाविक मान्नु पर्छ । अन्यथा धार्मिक, साँस्कृतिक, आर्थिक र सघन प्राकृतिक भु-बनवटको पृष्टभूमि अन्य शेर्पाहरुको जास्तै हो । विद्यमान दैनिक जीवनपद्धति भित्रको बिथितिहरुलाई सुधार गर्दै हाम्रो सामाजिक गतिविधिहरुलाई अक्षुण्ण राख्दा कसैले खोट लाउँने ठाउँ रहदैन । शेर्पाहरु सहर बजार, गाउँ बास्ती र अनकन्टार ठाउँहरुमा छुट्टाछुट्टै खोला र उपत्यकाहरुमा बसोवास गरे तापनि गुरु पद्मसम्भव र भगुवान् बुद्ध प्रतिको आस्था र पूजापाठमा अन्तर पाइन्दैन । आधुनिक शिक्षाको प्रभावका कारण र अन्य छिटफुट बाहेक सबैको हातमा बोधिचिताको माला बोकेर मुखमा अवलोकेतेश्वाराको करुणामय मन्त्र ‘ॐ मानी पेद्मे हुँ’ जपेकै हुन्छन् । कसैलाई पीर–मर्का परेको देख्दा “ञिङचे” भनि करुणाभाव प्रकट गर्नु त जन शेर्पाहरुको बिषेशता नै हो ।

-हिमाली शेर्पा सेवा समाज ले तयार परिएको शेर्पा हिमालय वेब्ली डॉट कॉम बाट साभार
-तस्बीर: वी अर शेर्पा बाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय