आनन्द कोइराला

जापान आएको पनि करिव दश वर्ष लाग्यो। मैले चिने जानेका नेपालीहरुको जापान बसाई मेरो भन्दा लामो छ। जसोतसो जापान आएर यसैगरि जीवन यापन गर्छुभनेर भने पनि यहाँको रहनसहन र कामको तौरतरिका र मेरो अनुमान भन्दा फरक रहयो। फरक परिवेश र समयसंगै चल्ने जीवन शैलीका कारण यति छिट्टै जापानमा यतिका वर्षवितेको पत्तै पाईएन।

श्रमिकहरूको मुलुक जापान

जापान अरुको अनुभव र मेरो अनुभव फरक हुनसक्छ। समय लामो छोटो जे होस, त्यो भन्दा पनि मैले जापानमा के कुरा सिके र मनन गरेभन्ने कुरा आम चासोको विषय हो। जापान एक सभ्य अनि भव्य तथा ईमान्दार श्रमिकहरुको मुलुक हो। श्रम अनि इमान्दारिता यहाँको पहिचान हो। अर्थात जापान भन्नै बित्तिकै पुराका पुरा श्रम गर्ने मानिसहरुको देश अनि इमान्दारिताको चरम सिमा पालना भएको देश पनि भन्नै पर्छ। यदाकदा केही गलत आपराधिक कार्यहरू अपवाद हुन।

हरेक मुलुकमा धनि र गरिव बीच ठूलो खाडल रहेको सहज महसुस हुन्छ तर जापानमा हर कोहीले यो सहज छुटयाउन सक्दैन। यसको एउटा गतिलो प्रमाण रेल यात्रा, सवारीमा यात्रा, मन्दिर तीर्थस्थलको भ्रमण अनि खानपिनका लागि कुनैपनि स्थानमा धनि गरिवको छेउटुप्पो महसुस गर्न पाईदैन। अझ काम गर्ने कार्यस्थलमा त अनुभव र क्षमतालाई उच्च कदर गर्ने भएकाले सानो ठूलो भन्दा पनि कसले कसरी मेहनत गरेको छ भनेर छुटयाइने भएकाले त्यो पनि थाहा हुदैन।

धनि गरिव त पैसाले छुटयाउछ नी भन्नेहरुका लागि भन्न चै मिल्छ तर खानपान गर्ने शैली, लवाईखवाई अनि सवारीको स्तरले चै यो सहज ठम्याउन सकिने कुरा हो। यो त विश्वभरि जहाँपनि हुन्छ नै तर जापान आएका हामी नेपाली र नेपालको अनुभवले यहाँ त्यो काम गर्दैन। नेपाली नेपाली भेटहुदाँ कतिपयले मसंग मात्र हो कि अरुसंग पनि भन्छन थाहाँ छैन तर मेरो त नेपालीहरुसंग विलकुल सम्पर्क छैन पुरै जापानीहरु मात्र हो भनेको सुन्छु। त्यतिनै सोध्न त मनलाग्छ कि नेपाल जानुहुन्छ कि हुदैन अनि नेपाली भाषा त राम्ररी बोल्नु हुन्छ नि? तर सोध्न मन लाग्दैन।

विदेशमा भनौ वा नेपालमा नै एक नेपालीले अर्को नेपालीलाई सुखदुखमा सरसहयोग होइन कि खुटटा तान्ने, खैरो खन्ने प्रवृति हावी छ। यति भएपनि मलाई चै आफुले जानेको र सुनेको कुरा नजानेर मसंग सोधीखोजी गरेका मान्छेलाई कुनैपनि जानकारी सहजै दिन मन लाग्छ। कतिपयले यसलाई अवसरका रुपमा लिएको पनि पाएको छु भने कतिपयले यसको दुरुपयोग पनि गरेको भेट्टाएको छु।

समग्रमा जापान एक अतिनै सम्पन्न र विकसित मुलुक पनि हो। जापानमा बसुन्जेल हामी नेपालीले सिक्दासिक्दै उमेर ढल्कने कुरामा मलाई चिन्ता लाग्छ। कारण यहॅाका भव्य महल, रेल संरचना, समुद्र र खोलाको व्यवस्थापन आदी हेरे पुग्छ। यसरी हेर्दा भाषाका कारण जापानमा विदेशीहरूले धेरै दुख झेल्नु परेको साथीभाई आफन्त र नजिक ठानिएकाहरूले भोलीबाट यस्ता नेपालीसंग भेटै गर्दिन भन्नेसम्मका नेपाली भेटेको छु।

दॅायाबाया जे जसरी हुन्छ आफ्नो जिम्माको काम फत्ते गर्ने र आफ्ना परिवारसंग समय विताउने हो भने जापान स्वर्गको एक नमुना हो। तर भाषा नजान्दा र जानेर पनि गलत मार्गमा डोहोर्याउन चाहने नोपालीहरूकै कारण हो। यसर्थ नेपाली नेपाली भेटहुदॅा कति कमाउछौ र नेपालमा जग्गाजमिन कति जोडयौ बारे नभई कामको कुरामा जोसंग पनि जोडिदॅा गलत हुदैन। र त्यो मामलामा विषेश सवैले आफ्ना र परिवारलाई सावधानी गर्दै सहि मार्गमा रहन प्रेरित गरौ। हामीले पनि जापानीहरू सरह विकसित भएर जीवनयापन गर्न सक्छौ।

जापानवासी नेपाली
जापानमा नेपाली समुदायको ईतिहास लामो छैन तर केही नेपालीहरुका कारण जापानमा नेपाल र नेपालीहरुको अलग्गै पहिचान बनाउन सफल छन। करिव सवा लाख नेपालीहरुको जनसख्या भईसक्दा मेरो जानकारीमा थाहाँ भएसम्म जापानी राहदानी लिएका नेपालीहरुको सख्या पुग्नपुग दुईचारहजार मात्र होला। यसका कारण के भन्न सकिन्छ भने जापानमा बसेका नेपाली समुदायले नेपालमा इमान्दार भएर रेमिटयान्स पठाएका छन। नेपालमा सम्पत्ति जोडेका छन। सकेसम्म अन्य मुलुक भन्दा काम सिक्न र पैसा कमाउनका लागि जापान नै आउन प्रेरित गरेका छन।

समुदायमा यो समाज त्यो समाज भनेर वर्गिकरण भएपनि उतिसार्हो राजनीति अनि जातिय र संस्थागत रुपमा गलत काम गरेका छैनन। समाज वा संघसस्था खोलेर निश्चित समयमा सेलाएका छन तर नराम्रो काम गरेका भने छैनन। यसरी सामाजिक संघसस्थाहरुको सुरूवात गर्न निश्चित सरसल्लाह गरेर निश्चित उदेश्य बोकेर काम गरेको खण्डमा यो एकदमै फलदायी हुन्छ। सार्ह्रोगारो पर्दा सहज पाईने बीमा सेवा तथा जापान सरकारका सेवाहरू प्रयोग गर्न प्रेरित गरे संघसंस्थाको महत्व अझै देखिन्छ।

अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरुलाई अध्ययनका सिलसिलामा केही असहज भएपनि अध्ययन सकेपछि कामका लागि समस्या छैन जापानमा तर कतिपय नेपालीहरु अग्रजहरुको गलत सल्लाह र आफनै कमजोरीका कारण समस्यामा परेका छन। छोटकरीमा भन्नुपर्दा जापानमा विद्यार्थी भएर आउने नेपालीहरु भाग्यमानी हुन तर आएको दिन वा आउनु भन्दा पहिलाबाट मेहनत र सभ्य हुन सिकेन भने सार्है दुख पाउछ अनि जापानलाई नै सराप्न थाल्छ।
मेरो अनुभवमा जापान पठाउने कन्सल्टेन्सी राम्रा हुन तर गलत सल्लाहदिने अनि गलत सुनेको मान्छेलाई वास्तविक जानकारी नदिनेहरु सवैभन्दा फटाहा र भडखालोमा हाल्नेहरु हुन। त्यो कुरा सुरु मै हेक्का राख्न सके विद्यार्थीहरुको भविश्य उज्वल छ जापान। विद्यार्थी भएर जापान आएका नेपाली समुदायले अन्य तरिकाले सिधै काममा आएका नेपाली र डिपेण्डेन्ट भिसा र दक्षकामदार भिसामा आएका नेपालीहरुका लागि मार्ग निर्देशक भएर हिडनु परेको छ।

जापान आउनु पूर्वको तयारी
धेरै कम मान्छेहरुसंग छलफलको विषय हो यो। कि कुनैपनि विषयमा पूर्व सल्लाह र जानकारी राख्ने। विद्यार्थी होस वा डिपेण्डेन्ट वा दक्षकामदार भिसा हरेक मान्छेले सवारी चालक अनुभव सहित लाईसेन्स समेत बेकेर जापान आएको खण्डमा जापानमा काम गर्दा कम्पनीले काममा राख्ने बलियो आधार बन्न सक्छ। हुन त जापान आएर पनि त्यो गर्न सकिन्छ तर नेपालबाटै लिएर आएको खण्डमा यसले तपाईको जापान बसाईलाई सहज बनाउछ।

यतिभन्दै गर्दा जापानमा सवैभन्दा पहिला त साधारण लेखपढ गर्नसक्ने एनफोर लेवलको भाषा भएको खण्डमा पनि धेरैधन्दा धेरै हिसावमा जीवन यापन सहज हुन्छ। यी र यस्ता विषयहरुमा हामी नेपाली समुदायले मार्ग निर्देश गरेको खण्डमा जापानमा मात्र होइन अन्य मुलुकमा समेत जादाँ र श्रम गर्दा फाईदा हुने देख्छु।

प्रवास गन्तव्य कहिलेसम्म?
अरुलाई त के भन्ने आफैले आफैलाई कन्भिन्स गरेर विदेशीएका कारण कुनैपनि मुलुकमा जानुपूर्व आफनो निश्चित योजना बनाएको खण्डमा सहज हुने र मानसिक रुपमा तनाव कम हुनेछ भन्ने मेरो अनुभव रहयो। दैनिक दुई हजारको सख्यामा नेपालीहरु मुलुक बाहिर जाने तथ्याँक आएपनि विदेशमा कति नेपाली छन भनेर नेपालको कुनैपनि निकायमा यकिन तथ्याँक छैन। यो नेपाल र नेपालीहरुको विडम्वना नै हो। शिक्षाको उचित अवसर नपाउने, हचुवाभरमा शिक्षा नीति, विदेश नीति भए झै विदेश पठाउने, श्रममा पठाउने, विद्यार्थीका रुपमा यसरी जान दिने आउन दिने भनेर राज्यसंग कुनैपनि नीति तथा योजना नहुन्जेल नेपालीहरु अहिलेको भन्दा दिनानुदिन प्रवासी हुनु पर्ने देख्छु।

यसको रोकथाम बारेमा धेरै कुराहरु होलान तर आफुले आफुलाई शिक्षित बनाउने, दक्ष र योग्य हुने जिम्मेवारी हामी आफैमा भएकाले आजैका मितिबाट आफुले चाहेको जस्तै बन्न कमिलाले जस्तै मेहनत गर्ने जापानीहरुको सिको सिक्नै पर्छ। यसको एउटा मात्र उपाय हरेर कुरामा मेहनत गर्ने।

अन्तमा विषय र प्रसंग धेरै भएपनि समग्र रुपमा मेरो दश वर्ष जापानीहरुसंग तुलना गरेरै वित्यो। हामीकहाँ यस्तो छ यिनीहरु यसरी र यस्ता छन भनेर । आगामी दिनमा पनि मैले मेरो काम गर्ने तौर तरिकालाई फरक नबनाउने हो भने यसरी नै अरु समय पनि तुलना गरेर नै बित्नेमा कुनै शंक छैन। तर माथी भने जस्तै आगामी दिनमा भने केही फरक रुपमा अध्ययन र अनुसन्धान गर्ने योजना राखेको छु।

(लेखक कोइराला, अन्तराष्ट्रिय नेपाली पत्रकार संघ ईन्जाका एसिया च्याप्टर उपसंयोजक हुन।)

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय