म्यामराज राइ /टीकियो, जापान

नेपाल बहुल जाति, बहुल भाषा, बहुल धर्म, बहुल संस्कार र संस्कृतिले भरिएको देश हो । रङ्गीचङ्गी फूलहरू एउटै फूलबारीमा फुले जस्तै फरक फरक समुदायका व्यक्तिहरू एकै गाउॅंमा मिलेर बसेका भेटिन्छन् । ती सबै देशका गहना हुन् । संरक्षण गर्न राष्ट्रिय स्तरमा सिङ्गो देशको कर्तव्य हो । साथै, जनस्तरबाट हामी सबैको नैसर्गिक कर्तव्य हुन जान्छ । त्यही जनस्तरबाट उत्कृष्ट प्रयास स्वरूप जातीय संस्कारहरूलाई संरक्षणार्थ कथा उठान गरिएको चलचित्र हो यो भन्दा अत्युक्ति नहोला ।

पूर्वी नेपालको कर्णाली भनेर चिनिने भोजपुर जिल्लाको दक्षिणी क्षेत्र आमचोक गाउॅंपालिकामा छायाङ्कन गरिएको चलचित्रमा केही प्रतिशत भोजपुरबाहिरको दृश्यमा धरानलाई देख्न सकिन्छ । आमचोक क्षेत्र राई जातिको बाहुल्यता भएको क्षेत्र हो । अझ यो क्षेत्र आमचोके बान्तावा भाषीहरूको क्षेत्र हो भनेर अलग्गै पहिचान समेत बनेको क्षेत्र हो । राई समुदायको एउटा निम्न वर्गीय परिवारको कथा उतारिएको छ । पारिवारिक तथा सामाजिक कथा छ ।

जीवनयापन गर्ने क्रममा आउने उतारचढावहरू देखाइएको छ । यातायातको सुविधाको रूपमा गाउॅंमा गाडीको बाटोसॅंगै गाडी पुगेपछि कथा सुरु हुन्छ । झण्डै दुई घण्टा लामो यो चलचित्रको कथाको समय कालखण्ड सत्तरीको दशकको सुरुवाती वर्ष वरिपरिको हुनुपर्छ ।

वाह ! प्रशन राईको अभिनय । बाल कलाकार प्रशन राई अर्थात् बिन्द्रे पात्र वरिपरि पूरै कथा घुमेको छ । केही महिनाको क्लोज क्याम्पको वर्कशपको भरमा अभिनय गरेको प्रशन राईलाई जति तारिफ गरे पनि कम हुन्छ जस्तो लाग्छ । उसले जीवन्त अभिनय गरेको देखिन्छ । माहिला अर्थात् बिन्द्रेको बुवा अर्थात् दयाहाङ् राई त त्यसै अभिनयको बादशाह हुन् । नेपाली चलचित्र जगत्मा आजको समयमा नेपालकै अग्रपङ्क्तिका अभिनेतामा गनिन्छन् । बहुमुखी प्रतिभाका धनी हुन् ।

जुनसुकै समुदायको कथामा आधारित चलचित्रमा होस् न्याय दिइरहेकै हुन्छन् । त्यही भएर सफल अभिनेतामा दरिए । झन् यो त आफ्नै समुदायको कथा हो । आफ्नै परिवारको कथा हो । त्यसकारण यसमा तारिफयोग्य अभिनय नहुने त कुरै भएन । बिन्द्रेकी आमा अर्थात् पशुपति राई पनि दशकौँदेखि थिएटरमा जमेकी अभिनेत्री हुन् । उनको अभिनयमा खोट कतै देखिन्न । परिवारमा बाबुछोरा तथा आमाछोराको सम्बन्ध उत्कृष्ट तरिकाले देखाइएको छ । आफ्नो सन्तानको खुसीको लागि एउटा बुवाले कतिसम्म त्याग गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत छ ।

यही सिलसिलाका दृश्यहरूले नोस्टाल्जिक बनाई दर्शकका आँखाहरू रसाइदिन क्षमता राख्छन् । सुदूर सम्झनाहरूले पक्कै चिमोट्छन् । चलचित्रभरि स्थानीय लवजमा गरिएका संवादहरू, बान्तावा भाषामा बोलिएको साइनोहरू, नेपथ्यमा बान्तावा भाषामा गाइएका गीतांशहरू आदि यस चलचित्रको सुन्दर गहनाहरू हुन् । अझ भनौँ आकर्षक पक्षहरू हुन् । राई समुदायमा जाँड र रक्सी जन्मदेखि मृत्युसम्मका कुनै पनि विधि विधान पूरा गर्दा अनिवार्य हो ।

नेपालको कानुनानुसार बिक्रीवितरण गर्न भने अवैधानिक मानिन्छ । ब्राण्डेड रक्सीको रूपमा विदेशबाट भित्रिएका महॅंगो रक्सीहरू किनबेच खुलमखुला हुन्छ । स्थानीय रक्सीहरू बन्देजमा किन पारिन्छन् भनेर राष्ट्रिय स्तरको मुद्धा यस चलचित्रमा उठेको महसुस हुन्छ । राई माहिलाहरू गाउॅं छोड्नुपर्ने कारणहरू मध्ये एउटा कारण यो पनि देखिन्छ । राई समुदाय बारे बुझ्न चाहनेले यो चलचित्र हेर्नैपर्ने खालको छ ।

अन्त्यमा, धरान बजारसम्म पुग्दा समेत फिपी बिक्री नभएर एउटा टिभी किन्न नसकेको कथा अलिक खल्लो लाग्यो । जुन ठाउॅं कथाको स्रोत लिइएको छ, त्यो ठाउॅंमा आलु, फापर, अलैँची आदि प्रशस्त उत्पादन हुने ठाउॅं हो जस्तो लाग्छ । ती उत्पादित नगदे बाली लगाउन प्रेरित गरिएको भए अझ राम्रो हुन्थ्यो, लाग्यो । चलचित्रमा देखाइएको बाँसको चोयाबाट बन्ने चित्रो, फिपी जस्तै थुन्चे, डोको, डालो, नाङ्लो, चाल्नो आदि हतुवा क्षेत्रमा उहिलेदेखि बनाइरहेका छन् । अहिले पनि बनाउॅंछन् ।

विशेष गरी होम्ताङ् (चलचित्र खिचिएको ठाउॅंको छिमेकी पालिका) क्षेत्रमा नाङ्लो बन्छ र बिक्रीवितरण शनिबारे हटिया घोरेटारमा अलिअलि हुन्थ्यो । बाँकी सबै दुई दिनको बाटो धाएर सुनसरीको चतरासम्म पुग्नुपर्थ्यो । अहिले अर्थात् साठीको दशक आधाआधी बिते यता गाउॅंगाउॅंमा बाटो आयो । कृषि सडकहरू जताततै फैलिए । त्यसपश्चात् पनि होम्ताङ् क्षेत्रमा बाँसजन्य काम रोकिएन । बरु बिक्रीवितरण गर्न चतरा जाने बाटो रोकियो । ती बाटाहरू रोकिएर के त्यहाँका जनता भोकै भए त ? कि बिन्द्रेको बुवा जस्तै गाउॅंबाटै विस्थापित भए ? कि अन्य पेशामा लागे ? अहॅं, स्थानीयहरू भोको भएनन् ।

विस्थापित पनि भएनन् र, अरू पेशामा पनि लागेनन् । गाउॅं आएको बाटोको सदुपयोग गरे । बजार व्यवस्थापनको रूपमा झन् घरघरमा बिक्रीवितरण गर्न पाए । त्यो बाटोबाट आएका फेरीवालाहरू घरघरमा किन्न पुगे । आफ्नो हातको सीपको मूल्य तात्तातो प्राप्त गर्न थाले । यसर्थ गाउॅं आएको बाटो अभिशाप नभई विकासकै पाटो सम्झिनु पर्छ, लाग्छ । राई समुदायमा पुर्खौली सम्पत्तिको रूपमा पुस्तान्तरण हुँदै आइरहेका संस्कारहरू सबै त अटेका छैनन् तर जति अटाइएका छन्, सुन्दर तरिकाले प्रस्तुत गरिएका छन् । कतिपयले व्यावसायिक चलचित्र नभई वृत्तचित्र हो भने त कसैले व्यावसायिक चलचित्र भन्न भ्याए ।

मैले चाहिॅं वृत्तचित्र जस्तै लाग्ने उपकथाहरूलाई व्यवसायिकरण दिन खोजिएको महसुस गरेँ । जय नेपाली चलचित्र । धन्यवाद ।

लेखक राइ लामो समयदेखि जापानमा रहेर निरन्तर साहित्य क्षेत्रमा कृयाशिल हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय