नाम्गेल मोक्तान
नेपाल भाषिक, धार्मिक, जातीय र सांस्कृतिक विविधता भएको मुलुक हो । यहाँका जनजातिका आ–आफ्नै भाषा, संस्कृति, धर्म र संस्कार छन् । ल्होछार÷ल्होसार नेपालका तामाङ, गुरुङ, शेर्पा, थकाली, जिरेल, हुम्ली, भोटे र ह्योल्मो जातिले परम्परादेखि नै मनाउँदै आएको पर्व हो । हाल ल्होछार÷ल्होसारलाई नेपाललगायत सिक्किम, चीन, मङ्गोलिया जापान, हङकङ, मकाउ, मलेसिया र थाइल्यान्ड आदि देशमा मान्ने गरेको पाइन्छ । नेपाल, सिक्किमका साथै संसारका सबैजसो भागमा ल्होछार÷ल्होसार पर्व मनाउने क्रममा केही वर्ष अघिदेखि एक किसिमको लहर नै आएको छ । आदिवासी जनजातिमा आफ्ना चाडसम्बन्धमा जागरण आउनुलाई सकारात्मक मान्नुपर्छ । यहाँका जनजातिको पहिचान भनेको नै उनीहरूका भाषा, धर्म, संस्कृति लगायतका जातीयता झल्काउने विविध संस्कार हुन् ।
नेपालमा हाल तीन प्रकारका ल्होछार÷ल्होसार प्रचलनमा छन् । ती हुन्– सोनाम, ग्याल्बो र तोला ल्होछार । यी तीन ल्होछार÷ल्होसारलाई यहाँका आदिवासी जनजातिले आ–आफ्नै संस्कारअनुसार फरक–फरक तिथिमा मनाउँछन् तर समग्रमा यी ल्होछार÷ल्होसार मनाउने तौर तरिका सामान्यतया उस्तै खालको पाइन्छ । जस्तो, ल्होछार÷ल्होसारको सुरुको दिन उनीहरू आफ्ना मित्रजनसँग भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । आफ्नो घर–आँगन, बाटोघाटो, चौताराको सरसफाइ गर्नुका साथै ल्होछार÷ल्होसार अवधिका लागि फलफूल, सागसब्जी आदिको बन्दोबस्तमा व्यस्त हुन्छन् । अन्त्यमा उनीहरू इष्टमित्र, नातागोतासँग भेला भई प्रीतिभोज, वनभोज, घरछिमेकमा भेटघाट गरी आशीर्वाद आदान–प्रदानसहित हर्षोल्लासपूर्ण वातावरणमा ल्होछार÷ल्होसार पर्व मनाउँछन् ।
तामाङ भाषामा ‘ल्हो’ भनेको वर्ष र ‘छार’ भनेको नयाँ हो । त्यसैले ल्होछारको अर्थ ‘नयाँ वर्ष’ हो । यसरी नै शेर्पाहरूको भाषा पनि ‘ल्हो’ भनेको वर्ष र ‘सार’ को अर्थ नयाँ हो । समग्रमा ल्होछार नेपालका मङ्गोलियन मूलका आदिवासी जनजाति समुदायले मान्ने चाड हो । गुरुङहरूले आफ्नै परम्परा र रीतिरिवाजअनुसार तोला ल्होछार हरेक वर्षको पुस १५ का दिन मान्ने गर्छन् । त्यसरी नै शेर्पाहरूले मान्दै आएको ग्याल्बो ल्होसार फागुनमा पर्छ । यसलाई नेपालमा तिब्बतीले मान्दै आएको पाइन्छ । ग्याल्बो ल्होसारलाई ठूलाबडा कर्मचारी र राजाखलकले मान्ने ल्होसारका रूपमा हेरिन्छ । त्यसैले यसलाई ‘राजकीय ल्होछार’ भन्ने गरिन्छ । यसरी नै तामाङहरूले मान्दै आएको ल्होछार ‘सोनाम ल्होछार’ हो । तामाङ भाषामा सोनामको अर्थ किसान हो । तसर्थ यो किसानले मान्ने पर्व हो । वसन्त ऋतुको आगमनसँगै सुरु हुने यो पर्व माघ शुक्ल प्रतिपदाको दिन पर्छ । ल्होछार सकेपछि मात्रै तामाङहरू खेतीपातीका लागि खेतबारी पस्छन् भन्ने विश्वास तामाङ समुदायमा पाइन्छ ।
नेपालमा ल्होछार मान्ने आदिवासी जनजातिबीच ल्होछारलाई हेर्ने दृष्टिकोणमा फरक–फरक धारणा विकास भएको देखिन्छ । यसलाई कसैले पूरै धार्मिक चाडका रूपमा व्याख्या गरेका छन् भने कसैले सांस्कृतिक पर्वको रूपमा हेर्छन् । ल्होछार÷ल्होसारका सन्दर्भमा यहाँका जनजातिबीच एकमत नभए पनि सरकारले यिनीहरूलाई सम्मान प्रकट गर्दै आएको छ । तोला ल्होछारका लागि पुस १५ गते, सोनाम ल्होछार मान्नेका लागि माघ शुक्ल प्रतिपदा र ग्याल्बो ल्होसारका लागि फागुन शुक्ल प्रतिपदाका दिन बिदा दिने गरिएबाट यसको पुष्टि हुन्छ । भारतको सिक्किम राज्यले समेत त्यहाँ बसोबास गर्ने तामाङ, गुरुङ, शेर्पा र ह्योल्मो समेतले मान्ने गरेको सोनाम ल्होछारलाई एक दिन बिदा दिने गरेको छ ।
ल्होछार÷ल्होसारलाई यससम्बन्धी सम्पूर्ण समुदायले एकै थलोमा मनाउन प्रयासरत रहन जरुरी छ । यो पर्व यहाँका आदिवासी जनजातिको संस्कृति संरक्षणको आन्दोलनका रूपमा अगाडि लैजान आवश्यक छ । त्यसो त सोनाम, ग्याल्बो र तोलाको व्याख्या विश्लेषण आ–आफ्नै ठाउँमा हुँदाहुँदै पनि समग्रमा यसलाई सांस्कृतिक पर्वका रूपमा विकास गर्नुपर्छ ।
Gorkhapatra bata