हिमाली सन्देश संक्षिप्त इतिहाँस भाषा, धर्म र संस्कृति हाम्रा पहिचान हुन । भाषा, धर्म र संस्कृति रहेन भने हाम्रो अस्तित्व पनि रहँदैन । अमेरिकामा शेर्पाहरुको जनसंख्या तीब्र गतिमा बढ्दै जाँदाको क्रममा आफ्नो जातीय पहिचानको चिन्ता पनि बढ्न थाल्यो । अमेरिका जस्तो वैभवशाली राष्ट्रको खुल्ला संस्कृतिको प्रभावले हामी जस्ता अल्पसंख्यकहरुको अस्तित्व नै निमिट्ट्यान्न पार्ने त होइन ? भन्ने प्रश्न टड्कारो रुपमा उठ्न थाल्यो । तसर्थ अमेरिकी भुमिमा शेर्पाहरुको भाषा, संस्कृति र बुद्ध धर्मको रक्षा र सम्बर्द्धनका साथ सिँगो शेर्पा जातिको सर्वाङ्गीण बिकासको लागि संस्थागत रुपमा क्रियाशील रहनु पर्ने कुरा महसुस गरे ।

सन् १९९५ को एक साँझ सोलुखुम्बु फेराका श्री ल्हाक्पा गेलु खम्बाचे शेर्पाको निवासमा भएको एक अनौपचारिक भेटघाटमा शेर्पा किदुग अमेरिकाको सुत्रपात भयो । १९९५ को जुलाईमा स्थानीय सेन्ट्राल पार्कमा भएको एेतिहाँसिक भेलाले न्युयोर्कबासी श्री सोनाम ग्याल्छेन शेर्पाको अध्यक्षतामा एक तदर्थ समिति गठन गरि शेर्पा किदुग अमेरिका (United Sherpa Association) स्थापना भएको औपचारिक घोषणा गर्‍यो ।

१९९६ को जुन् छ तारीखका दिन संबन्धित निकायमा संस्थाको नाम दर्ता गर्‍यो । स्थापनाकालको शुरु देखि नै शेर्पा किदुग अमेरिकाले सामुहिक रुपमा लोसार पर्व मनाउने, ल्हाप्सो पूजा आयोजना गर्ने जस्ता कामहरु गर्न थाले । भर्खर नेपालबाट आएकाहरुलाई बिभिन्न उपयोगी जानकारीहरु समावेश भएको Welcome Package पठाएर स्वागत गर्ने, नियम कानुन र अध्यागमन सम्बन्धी जानकारीहरुले सुसुचित गराउने जस्ता कामहरु गरेर लोकप्रियता हासिल गरे । १९९७ को मार्च देखि प्रत्येक दुई वर्षमा लोसार ताका निर्वाचन प्रणालीबाट कार्यसमिति चयन गर्ने परम्परा बसाल्यो । १९९७ मा आएर कर बिभागबाट Tax ID लियो ।

अब शेर्पा किदुग पूर्ण रफ्तारमा अघि बढ्न थाल्यो । चुस्त ब्यवस्थापनका साथ किदुगले नेपाली समुदायमा अग्रणी भूमिका निर्वाह थाल्यो । शेर्पाहरुको बढ्दो जनसंख्यालाई संबोधन गर्न एउटा गुम्बा सहित सामुदायिक भवनको परिकल्पना हुन थाल्यो । गुम्बा निर्माण सम्बन्धी बिचार बिमर्श हुन थाल्यो । धेरै बहस र छलफलहरु भए । यसै बीच २००५ मा किदुगले कार्यसमितिको सक्रियता र दानाबीरहरुको सहयोगमा कार्यालयको लागि एउटा भवन भाडामा लियो । त्यसै भवन भित्र त्रिकाय बुद्धको मुर्ति सहित गुम्बा स्थापना गर्न समेत सफल भयो । काम गर्छु भन्नेहरुको स्फुर्ति बढेर गयो । २०११ मा शेर्पा किदुगले दक्षिण एशियालीहरुको वाहुल्यता रहेको ज्याक्सन हाइट्सको बीचमा आफ्नै स्वामित्वको भवन खरीद गर्‍यो । पहिलेको क्रिस्चियन चर्च् अब बौद्ध गुम्बामा परिणत भयो । यो गुम्बा अमेरिकाली नेपालीहरुको गौरब बनेर ठडिएको छ ।

यस गुम्बामा दैनिक रुपमा बुद्धका मन्त्रहरु गुन्जन्छन् । शान्तिका धूनहरु बज्दछन् । भगवान बुद्धका जीवन सँग सम्बन्धित चार महातिथिहरुमा पूजा र प्रणिधान गरिन्छ । प्रत्येक शुक्ल पक्ष दशमीमा दोस्रो बुद्ध भगवान पद्म संभवको सम्मानमा गणचक्र पूजा अर्पण गरिन्छ भने हरेक कृष्ण पक्ष दशमीमा डाकिनी पूजा हुन्छ । बिभिन्न सामुदायिक कार्यक्रमहरुका लागि शेर्पा किदुगको सभाकक्ष लोकप्रिय बनेको छ । बर्तमान गतिबिधिहरु ।

१. शेर्पा संस्कृति र बौद्ध दर्शनको शिक्षा दिने उद्धेश्यले आज भन्दा नौ वर्ष पहिले खुलेको श्यार्वी रिग्श्युङ् लोप्टाले उच्च गुणस्तरीय शिक्षा दिंदै आएको छ । यस लोप्टामा हाल एक सय पचास जना जति विद्यार्थीहरु अध्ययनरत छन् । पचास जना भन्दा बढीले अति उच्च तान्त्रिक साधनामा लागेका छन् । साधनाको लागि बर्षेनी एकान्त बास समेत बस्ने गरेका छन् । लोप्टाको लागि किदुगले छुट्टै भवन भाडामा लिएको छ ।

२. विद्यार्थी तथा ब्यावसायिकहरुको सन्जाल (NSSP) ले युवा तथा विद्यार्थीहरु बीच समन्वय गरी बिभिन्न अन्तरक्रिया, गोस्टी, हाजिरी जवाफ, निबन्ध प्रतियोगिता, शैक्षिक भ्रमण जस्ता उपयोगी कार्यक्रमका साथमा माध्यमिक तथा उच्च शिक्षाका विद्यार्थीहरुलाई अभिमुखिकरण गर्दै आएको छ ।

३. शेर्पा किदुगले वार्षिक रुपमा आयोजना गर्दै आएको खेलकूद प्रतियोगिता नेपाली, तिब्बती र भुटानी समुदाय भित्रको सबै भन्दा ठुलो खेल प्रतियोगिताको रुपमा स्थापित भैसकेको छ ।

४. किदुगद्वारा स्थापित छात्रवृतिबाट हाल चार जना विद्यार्थीहरुले वार्षिक एक लाख रुपैयाँ प्राप्त गरिरहेका छ्न् । प्रत्येक वर्ष नयाँ नयाँ विद्यार्थी थप्दै जाने योजना छ ।

५. किदुगले पाँच वर्ष अघि शुरु गरेको United Sherpa Football Club मा १५० जना जति बालबलिकाहरु सिक्दै छन् । यस क्लबले केही प्रतिष्ठित प्रतियोगिताहरुमा बिजय हासिल गरी सकेका छन् ।

६. शेर्पा किदुग महिला फूट्बल टोलीमा ४० पचास जना महिलाहरुले फुट्बल खेल्दै आएका छन् ।

७. महिला सशक्तिकरण समितिले महिलाहरुलाई एकत्रित गरी रचनात्मक कार्यहरुमा सम्मिलित गराउँदै आएको छ भने हाल निशुल्क जुम्बा कक्षा संचालन गरिरहेको छ । ८. बालबालिकाहरुलाई शेर्पा भाषा र बौद्ध दर्शनको ज्ञान दिन एक वर्ष अघि खुलेको कक्षामा ५०-६० जना बालबालिकाले लाभ लिई नियमित सहभागी छन् ।

९. बालबालिकाहरुको लागि नेपाली भाषा र संगीत कक्षा पनि नियमित संचालनमा रहेको छ ।

१०. ब्यावसायिक शेर्पा चालक समितिले शेर्पा सवारी चालक हरुको सन्जाल बनाई चार महिना भन्दा बढी बिरामी भएकालाई पाँच हजार, दुर्घटनाबाट अंग भंग भएमा सात हजार पाँच सय र मृत्‍यु भएमा दश हजार डलर आफुहरु मध्येबाट उठाएर सहयोग गर्ने प्रावधान बनाएको छ ।

११. यस बाहेक पनि किदुगले समान उद्धेश्य भएका सरकारी तथा गैर सरकारी संस्थाहरु सँग हातेमालो गर्दै बिभिन्न समाजोपयोगी कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

भावी योजनाहरु,

१. वार्षिक ल्हाप्सो पूजाको लागि एक वर्ष भित्र जग्गा खरीद गर्ने लक्ष्यका साथ संरक्षक समितिका सदस्यहरु खटीरहेका छन ।

२. शेर्पाहरुको प्रमाणित इतिहाँसको अभिलेखिकरण गर्न र बर्तमान अवस्थाको तथ्यांक संकलन गर्न विज्ञहरु सम्मिलित समिति बनेको छ । भविष्यमा एउटा शेर्पा सङ्ग्राहलय स्थापनाको लागि एक दीर्घकालीन योजना सहित कार्य थालनी हुन लागेको छ ।

३. समुदायमा रहेको पुस्तान्तरको समस्यालाई सन्बोधन गर्न बिशेष कार्यक्रमहरु ल्याइँदै छ ।

४. हालको भवनलाई विस्तार गरी ठुलो र सुबिधायुक्त भवन निर्माण गर्न बिशेष योजना तयार हुने क्रममा छ ।

५. भैपरी आउने घटना वा समस्याहरुमा तत्काल समाधानको ब्यवस्था गर्न एक अाकस्मिक कोष ( Emargency Fund) खडा गरी संचालनमा ल्याउने योजना छ ।

६. सदस्यता वितरणमा तीब्रता ल्याई किदुगको दायरा फराकिलो बनाउने कार्यक्रम योजना छ ।

७. नयाँ नयाँ आर्थिक श्रोत खोजी गर्ने काम हुदै छ ।

८. सरकारी र गैर सरकारी निकायबाट चन्दा तथा अनुदानहरु जुटाउने योजनाहरु बन्दै छन् ।

९. शेर्पा संस्कृति र रीतिरिवाजका नाममा रहेका बिकृतिहरु उन्मुलन गर्न बिश्व शेर्पा संघ मार्फत पहल गर्ने उद्धेश्य रहेको छ । धन्यवाद । उर्गेन शेर्पा, न्युयोर्क ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय